नेकपाको राजनीतिक प्रतिवेदनमा के छ ? « Nagarik Khabar

नेकपाको राजनीतिक प्रतिवेदनमा के छ ?



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि अब आफ्नो राजनीतिक प्रतिवेदन तल्लो तहमा पठाउने भएको छ । दुई अध्यक्षबीचको छलफलपछि राजनीतिक प्रतिवेदन पार्टीको तल्लो तहसम्म पठाउने तयारी छ । हिजो दुई अध्यक्षबीच राजनीतिक प्रतिवेदन तल्लो तहसम्म लैजाने र पार्टी एकता तथा जिम्मेवारी बाँडफाँटका विषयमा छलफल गर्न शुक्रवार सचिवालय बैठक बस्ने सहमति भएको थियो ।

पार्टीको राजनीतिक प्रतिवेदनमा पार्टीको सैद्धान्तिक कार्यदिशा जनताको जनवाद हुने उल्लेख गरिएको छ । प्रतिवेदन पार्टी सचिवालय बैठकले यसअघिनै पारित गरेको थियो । तर प्रधानमन्त्री समेत रहेका ओलीले उक्त राजनीतिक प्रतिवेदनलाई तल्लो तहसम्म लैजान आलटाल गर्दै आएका थिए । पार्टी एकताको एकवर्षपछि नेकपाले आफ्नो राजनीतिक कार्यदिशासहितको प्रतिवेदन तल्लो तहमा पठाउन दुई अध्यक्षले गृहकार्य थालेका हुन् ।

पार्टी एकताका बेला तत्कालीन नेकपा एमालेले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’ र तत्कालीन नेकपा (माओवादी केन्द्र)ले लिएको ‘२१औँ शताब्दीको जनवाद’को विकल्पमा नयाँ राजनीतिक कार्यदिशा ‘जनताको जनवाद’ हुने कुरा उल्लेख गरिएको छ । अन्तरिम राजनीतिक प्रतिवेदनमा क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादको आधारमा अगाडि बढ्ने उल्लेख छ । प्रतिवेदनमा समाजवाद उन्मुख राष्ट्रिय पुँजीवादको विकास र सामाजिक न्यायसहितको समृद्धि तत्कालीन कार्यभार र लक्ष्य हुने लेखिएको छ ।

प्रतिवेदनमा ‘यो मूल राजनीतिक कार्यनीति तत्कालै फेरबदल हुने सामान्य कार्यनीति होइन । यसले सापेक्ष रूपमा लामो अवधिसम्म हाम्रो समाज, राजनीति र वर्गसंघर्षलाई दिशा निर्देशित गर्नेछ ।’ उल्लेख गरिएको छ । उत्पादन शक्तिको विकास, राष्ट्रिय पुँजीवादी औद्योगिकीकरण, समृद्धि र समाजवादको भौतिक आधार तयार नभएसम्म समाजवादमा रूपान्तरण गर्ने वा समाजवादी कार्यक्रम लागू हुन सक्ने स्थिति बन्दैन प्रतिवेदनमा छ ।

प्रमुख सत्तारुढ नेकपामा पछिल्लो समय ओली पक्षधर नेता ईश्वर पोख्रेलले जबजनै पार्टीको मुख्य कार्यदिशा हुनुपर्ने बहस थालेपछि अर्का अध्यक्ष प्रचण्डले त्यसको प्रतिवाद गर्दै राजनीतिक कार्यदिशासहितको प्रतिवेदन तल्लो तहसम्म पठाउन ओलीलाई दबाब दिएका थिए । त्यसै अनुसार दुई अध्यक्षबीच हिजो प्रतिवेदन पार्टीको तल्लो तहसम्म पुर्‍याउने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: