जापानसँग बराबरीमै रोकियो उरुग्वे « Nagarik Khabar

जापानसँग बराबरीमै रोकियो उरुग्वे



पोर्ताे एलेग्री (ब्राजिल) । उपाधि दाबेदार उरुग्वे कोपा अमेरिका फुटबलअन्तर्गत आफ्नो महत्वपूर्ण खेलमा प्रतियोगिताको पाहुना टोली जापानसँग बराबरीमै रोकिएको छ । पोर्ताे एलेग्रीमा शुक्रबार बिहान भएको खेलमा उरुग्वे जापानसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

यो नतिजासँगै लगातार दोस्रो जित हात पारेर नक आउट चरणमा स्थान सुरक्षित गर्ने उरुग्वेको योजना भने असफल भएको छ । उरुग्वेलाई बराबरीमै रोकेर जापानले पनि नक आउट चरणको सम्भावना जीवितै राखेको छ ।

युवा खेलाडीलाई लिएर प्रतियोगिता खेल्न ब्राजिल पुगेको जापानले उरुग्वेविरुद्ध दुई पटक अग्रता बनाएको थियो । यद्यपि आफ्नो अग्रतालाई जोगाइराख्न नसक्दा जापान जित हात पार्न भने असफल रह्यो ।

चिलीविरुद्धको पहिलो खेलमा ४–० को भारी अन्तरले पराजय बेहोरेपछि जापानले आफ्नो टोलीमा सात खेलाडी परिवर्तन गरेको थियो । त्यसमध्येका एक खेलाडी कोजी मियोशीले टोलीको दुबै गोल गरेका हुन् ।

मायोशीले खेलको २५औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३२औं मिनेटमा लुइस स्वारेजले उरुग्वेलाई १–१ को बराबरीमा फर्काए । स्वारेजले पेनाल्टी अवसर सदुपयोग गरेका थिए ।

त्यसपछि खेलको ५९औं मिनेटमा मायोशीले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई फेरि अग्रता दिलाए । खेलको ६६औं मिनेटमा जोसे जिमिनेजले गोल गर्दै उरुग्वेलाई २–२ को बराबरीमा फर्काएका हुन् ।

समूह सीमा रहेको उरुग्वे दुई खेलबाट चार अंकसहित शीर्ष स्थानमा रहेको छ । साविक विजेता चिली एक खेलबाट तीन अंकसहित दोस्रो स्थानमा रहेको छ । दुई खेलबाट एक अंक भएको जापान तेस्रो र खाता खोल्न नसकेको इक्वेडर चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: