काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारलाई दम्भ देखाउने काम बन्द गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भट्टराईले सरकारलाई दुई तिहाई बहुमतको दम्भ नदेखाउन सुझाव दिएका हुन् ।
‘फलेको हाँगो झुक्छ,’ उनले भने, ‘तपाईहरु दुई तिहाई बहुमतको सरकारको प्रतिनिधित्व गरिरहनुभएको छ । त्यसैले तपाईहरुले दम्भको प्रदर्शन गर्ने होइन ।’
अध्यक्ष भट्टराईले मतादेश दिगो नहुने बताउँलै छिमेकी भारतको पश्चिम बंगालमा ३४ वर्षसम्म वामपन्थीको सरकार चलेको र अहिले एक सिट पनि नजितेको उदाहरणलाई दिए । ‘७० वर्षसम्म सोभियत संघमा कम्युनिष्ट शासन चलेको र त्यहाँ अहिले कम्युनिष्ट पार्टीको नाम निसान पनि खोज्न गाह्रो भइरहेको हामीले बिर्सन मिल्दैन,’ उनले भने, ‘विनम्रतापूर्वक आग्रह छ । दम्भ त्यागौं र झुकौं । अरुको कुरा सुनौं । ज्ञान बोल्छ । बुद्धि सुन्छ ।’
भट्टराईले सरकारका पछिल्ला कदमले सरकार केन्द्रीकरणतर्फ जान लागेको संकेत दिएको टिप्पणी गरे । गुठी विधेयकको विरोधमा राजधानीमा भएको प्रदर्शनलाई सांकेतिक ढंगले बुझेर संविधानविपरीत ल्याइएका मानवअधिकार आयोग, मिडिया काउन्सिल, सुरक्षा परिषदलगायत विधेयकहरु तुरुन्तै खारेज गर्न उनले माग गरे ।
उनले गुठी विधेयक खारेजीको माग गर्दै आन्दोलित समुदायप्रति सरकार गम्भीर हुनुपर्ने सुझाव दिए । ‘हामी खस आर्य समुदायले एउटा उखान बनाएका छौँ, ज्वाइँ न स्वाइँ अगुल्टाले च्वाइँ,’ उनले भने, ‘अस्ती माइतीघर मण्डलामा हाम्रा ससुराली खलकले अगुल्टा उचाले, यसबाट ज्वाइँ प्रधानमन्त्री, ज्वाइँ उपप्रधानमन्त्री, ज्वाइँ मन्त्रीजीहरु सर्तक हुनुहोला ।’
अध्यक्ष भट्टराईले बजेट विनियोजनलगायतले संघीयताको मर्म बुझ्ने दिशातर्फ सरकार नगएको दाबी गरे । संघीय सरकारको व्यवहारबाट अहिले प्रदेश सरकारहरु पनि सन्तुष्ट नदेखिएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । गत वर्ष प्रदेश र स्थानीय तहका लागि २३ प्रतिशत बजेट गएको अहिले २० प्रतिशतमा झरेको औंल्याए ।