ओली प्रचण्ड सहमति: महाधिवेशनसम्म जनताको जनवाद पार्टीको कार्यदिशा « Nagarik Khabar

ओली प्रचण्ड सहमति: महाधिवेशनसम्म जनताको जनवाद पार्टीको कार्यदिशा



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच महाधिवेशनसम्म पार्टीको कार्यदिशा जनताको जनवादनै मानेर जाने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ओली र प्रचण्डबीच पार्टीको कार्यदिशा जनताको जनवाद मानेर जाने सहमति भएको छ । त्यसका लागि अध्यक्षद्वयले एक दुई दिन भित्र राजनीतिक प्रतिवेदन अध्ययन गर्ने र तल्लो तहसम्म लैजाने सहमति भएको स्रोतको दाबी छ । यसअघि सचिवालयबाट पारित भए पनि पार्टीको राजनीतिक प्रतिवेदन तल्लोतहसम्म पुग्न सकेको थिएन ।

नेकपाका महासचिव विष्णु पौडेलले दुई अध्यक्षबीच पार्टी एकताका बाँकी काम छिटो पुरा गर्ने विषयमा छलफल भएको बताए । उनले भने,’दुई अध्यक्षबीच आपसी एकतालाई बलियो बनाएर लैजाने विषयमा छलफल भएको छ । अहिले अध्यक्षद्वयबीच दुरी बढेको भन्ने कुरा असत्य हुन् । दुवै अध्यक्ष पार्टी एकताका बाँकी काम सम्पन्न गर्न र सरकारले ल्याएका राम्रा कार्यक्रमलाई गतिका साथ राष्ट्रिय राजनीतिमा सहमति गरेर अगाडि बढ्ने विषयमा छलफल भएको छ ।’

पार्टी एकताका बाँकी काम पुरा गर्ने विषयमा छलफल गर्न भोलि दिउँसो ३ बजे पार्टीको सचिवालय बैठक बस्ने पौडेलको भनाई छ । नेकपाका दुई अध्यक्षबीच दुरी बढेका बेला महासचिव पौडेलले समन्वयको भूमिका निर्वाह गरेका थिए । स्रोतका अनुसार आजको छलफलमा पनि महासचिव पौडेल आफै सहभागी भएका थिए । यसअघिनै सहमति भएको र सचिवालयको निर्णयपछि पनि पार्टीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म पुग्न सकेको छैन ।

आजको बैठकमा सरकार विरोधी आन्दोलन, विवादित विभिन्न विधेयक लगायतका विषयमा समेत छलफल भएको स्रोतको दाबी छ । दुई अध्यक्षबीच मन्त्रीपरिषद् हेरफेरमा समेत कुराकानी भएको छ । भोलिको सचिवालय बैठकपछि मात्र यो विषय निष्कर्षमा पुग्ने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: