किसानलाई साढे चार करोड क्षतिपूर्ति « Nagarik Khabar

किसानलाई साढे चार करोड क्षतिपूर्ति



चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा शुक्रबार बसेको सर्वपक्षीय बैठकले मकवानपुरका बर्डफ्लुका कारण पीडित किसानलाई राहतस्वरुप अनुदान रकम वितरण गर्ने निर्णय गरेको छ ।

पशुसेवा विभाग काठमाडौंबाट कृषकलाई यही असार ९ गते हेटौंडामा अनुदान रकम वितरण गरिने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । उनका अनुसार मकवानपुरका ५४ कृषकलाई राहतस्वरुप क्षतिपूर्तिबापत चार करोड ४२ लाख उपलब्ध गराइने भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं. ६, ७, ८, १४, १५, १६ र १७ मा गरी ५४ कृषकका फर्ममा गत फागुनको पहिलो सातादेखि बर्डफ्लुको प्रकोप देखिएपछि प्रशासनले कुखुरा नष्ट गर्ने अभियान सुरु गरेको थियो । सो अभियानअन्तर्गत प्रशासनले विभिन्न समयमा ६६ हजार ५४६ कुखुरा नष्ट गरेको थियो ।

किसानहरुको कुखुरा नष्ट गर्दा प्रत्येक कुखुराबापत नौ सय चार माग गरे पनि पशु सेवा विभागले भने ६७५ अर्थात् ७५ प्रतिशत रकम उपलब्ध गराएको छ । सो रकम प्रकृति जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण कार्यालय हेटौंडाबाट वितरण गरिने कार्यालय प्रमुख सानुकाजी पछाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: