शताब्दी पुरुष जोशीको नागरिक अभिनन्दन « Nagarik Khabar

शताब्दी पुरुष जोशीको नागरिक अभिनन्दन



भक्तपुर । शताब्दी पुरुष सत्यमोहन जोशीलाई शुक्रबार भक्तपुरमा नागरिक अभिनन्दन गरिएको छ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समिति, भक्तपुरले विशाल र्यालीसहित सूर्यविनायकमा उनको अभिनन्दन गरेको हो ।

विभिन्न संघसंस्थाको सहभागितामा बाजागाजासहित मध्यपुरथिमिको बाहाखाबजारबाट शंखधर चोकसम्म सांस्कृतिक र्याली निकालिएको थियो । दत्तात्रयबाट जोशीलाई गाडीमा राखेर बाजागाजा तथा र्यालीसहित भक्तपुर नगरको विभिन्न क्षेत्रको परिक्रमा गरी सूर्यविनायकमा अभिनन्दन गरिएको थियो ।

अभिनन्दनमा नेवारी परम्परानुसार जोशीलाई सगुन दिनुका साथै साहित्यकार तेजेश्वरबाबु ग्वङ्गःले बेताली, साहित्यकार रमापतिराज शर्माले दोसल्ला, श्रीगोपाल प्रजापतिले फूलमाला तथा पूर्णप्रसाद बैद्य तथा कैलाशभक्त प्रधानाङ्गले टीका लगाएर अभिनन्दन गरेका थिए ।

कार्यक्रममा सांसद महेश बस्नेत, प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र कार्यक्रम संयोजक नरेन्द्रभक्त हाडाले जोशीलाई अभिनन्दन पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा जोशीले नेपालको कला, शिल्प, साहित्य, सम्पदा, संस्कृति र लोक संस्कृतिको संरक्षणमा पुर्याएको योगदानको चर्चा गरिएको थियो ।

वरिष्ठ पत्रकार भैरव रिसाल, वरिष्ठ साहित्यकार तिलकप्रकाश कायस्थ र जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले जोशी देशकै गहना भएकाले उनको योगदानलाई सधँै स्मरण गर्नुपर्ने बताए । कार्यक्रममा जोशीले नेपालको विभिन्न भाषा, संस्कृति, कला, साहित्यलाई सधैँ जीवित राख्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: