मालिङगाको उत्कृष्ट बलिङ, इल्यान्डविरुद्ध श्रीलंका २० रनले विजयी « Nagarik Khabar

मालिङगाको उत्कृष्ट बलिङ, इल्यान्डविरुद्ध श्रीलंका २० रनले विजयी



लण्डन । एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत रोमाञ्चक बनेको इङ्ल्यान्डविरुद्धको खेलमा श्रीलंकाले २० रनको जित हात पारेको छ । यो जितसँगै श्रीलंकाले सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राखेको छ ।

श्रीलंकाले ६ खेलबाट ६ अंकसँगै अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । श्रीलंकासँग पराजित भएपछि इङ्ल्यान्डमाथि भने केही दबाब थपिएको छ । ६ खेलबाट आठ अंक बनाएको इङ्ल्यान्ड अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । तर, यसपछिको बाँकी खेल न्युजिल्यान्ड, भारत, अस्ट्रेलिया जस्ता बलिया टोलीविरुद्ध रहेकाले इङ्ल्यान्डलाई दबाब थपिएको हो ।

हेडिङले लिड्समा टस जिती पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा नौं विकेट गुमाएर दुईसय ३२ रनको सामान्य योगफल तय गरेको थियो । जवाफी ब्याटिङमा आएको इङ्ल्यान्डविरुद्ध कसिलो बलिङ गर्दै श्रीलंकाले आफूले तय गरेको सामान्य योगफल रक्षा गरेको हो ।

इङ्ल्यान्डविरुद्धको महत्वपूर्ण जितमा ब्याटिङतर्फ एञ्जेलो म्याथुजले अविजित ८५ रनको योगदान दिए भने बलिङतर्फ लासिथ मालिङगाले चार विकेट लिए । म्याथुजले आफ्नो पारीमा एक छक्का र पाँच चौका प्रहार गरेका थिए ।

यस्तै अभिस्का फर्नान्डोले थप ४९, कुशल मेन्डिसले ४६ र धनन्जय डी सिल्भाले २९ रनको योगदान दिएका थिए । १० ओभर बलिङ गरेका मालिङगाले एक मेडन निकाल्दै ४३ रन खर्चिएका थिए ।

म्यान अफ दी म्याचसमेत चुनिएका मालिङगाले विश्वकपमा ५० विकेटको कोसेढुङ्गासमेत पार गरेका छन् । विश्वकपमा उनको ५१ विकेट पुगेको छ । उनीबाहेक श्रीलंकाका लागि धनन्जय डी सिल्भाले तीन विकेट लिए ।

इङ्ल्यान्डका लागि बेन स्टोक्सले अविजित ८२ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् । उनले आफ्नो पारीमा चार छक्का र सात चौका प्रहार गरेका थिए । उनीबाहेक जोई रुटले ५७ रनको योगदान दिएका थिए । अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ इङ्ल्यान्डका जोफ्रा आर्चर र मार्क उडले तीन/तीन विकेट लिए । अदिल रशिदले दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: