-कविता
साथी !
समय पढ
यो तिम्रो समय होइन
सन्दर्भ पढ
यो उही सन्दर्भ होइन
समय परिवर्तनशील छ
समाज गतिसिल छ
तिमी आफ्नै समयको
ह्याङ्गरमा झुण्डिइरहँदा
उ अनि उनी
परिवर्तित समय र समाजसँगै
नवसंस्कृति सञ्जाल र सस्कार सँगै
आफू स्वयंलाई निराकार बनाउँदै
समय बिचारका ह्याङ्गर फेर्दै
समुहको सोली भित्र
बिचारको बलि दिँदै
निराकारलाइ आकार दिए
आफ्ना सपना साकार पारे
तर, तिमी !
आफ्नै बिचार र समयको
ह्याङ्गरमा ह्याङ हुँदै
नो म्यान हुँदैछौ
बदनाम त नभनौं
गुमनाम हुँदैछौ
किनकी
तिमी गिदी रोज्छौ
विधि पर्खन्छौ
उनिहरु माइन्ड चलाउँछन
समुहको लाइन मिलाउँछन
तिमी नीति खोज्छौ
उनी नेता रोज्छन्
तिमी योग्यताको कोटी बढाउँछौ
उनी ब्रीफकेसको भेटी चढाउँछन्
अनि
तिम्रो समयका नो म्यानहरु
ह्याङ्गर पटक पटक फेरी सके
बिग म्यान, सुपर म्यान बनिसके
साथी
अझै पनि सिक
मनले बहिस्कार गरेकालाइ
हातले नमस्कार गर्न सिक
भित्र भित्र आँत रुवाउँदा पनि
बाहिर दाँत हसाउन सिक
भोको पेटमा अघाउन सिक
झुण्ड झुण्डमा रमाउन सिक
समूह समुह बीच खेल्न सिक
बोस कै बोली बोल्न सिक
विधि बिधान छोड्न सिक
नीति नियम तोड्न सिक
बैचारिक बार फोड्न सिक
शक्तिको सोच मोड्न सिक
अनि मात्र तिमी
त्यो समयको ह्याङ्गरको ह्याङ होइन
यो समयको सुपर फिटेस्ट म्यान बन्नेछौ
कोमल बन्ने छौ, महेश बन्ने छौ
देस घुम्ने छौ, बिदेश घुम्ने छौ
शेर्पा हुनेछौ, छिरिङ हुनेछौ
पार्टी सरकारको, क्रीम हुनेछौ
सांसद हुने छौ, राजदुत हुनेछौ
सिङ्गो देश बोक्ने, घनिभुत हुनेछौ
दण्डवाल बन्ने छौ, झण्डावाल बन्ने छौ
जहातही हरबखत मालामाल बन्ने छौ
-डा चापागाइ आहत
अर्जुनचौपारी ५ आरुचौर, स्यङ्जा