एन्फाको नक्कली टि–सर्ट बनाई बेचेको आरोपमा ६ जना पक्राउ « Nagarik Khabar

एन्फाको नक्कली टि–सर्ट बनाई बेचेको आरोपमा ६ जना पक्राउ



काठमाडौं । प्रहरीले अखिल नेपाल फुटबल संघ (एन्फा)को नक्कली टिसर्ट बनाई बेचबिखन गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुले एन्फाको नक्कली लोगो समेत प्रयोग गरी टि–सर्ट बनाई बेचबिखन गरेको प्रहरीको भनाइ छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबजार बस्ने बाग्लुङ जयमुनी नगरपालिका–९ का २९ वर्षीय चन्द्रदत्त शर्मा, काठमाडौं खुसिबुस्थित बिआरके सप्लायर्सका सञ्चालकद्वय काठमाडौं महानगरपालिका–१७ बस्ने रुपन्देहीका ३६ वर्षीय विष्णु प्रसाद कडेंल तथा काठमाडौं महानगरपालिका–१७ बस्ने स्याङजाका ३५ वर्षीय सागर पाण्डे, काठमाडौं महाबौद्धस्थित रेडिमेड स्टोरका सञ्चालक काठमाडौं महानगरपालिका–९ बस्ने ५२ वर्षीय गोबिन्द खनाल, काठमाडौं विशाल बजारस्थित एसी स्पोर्ट्स गोदामका सञ्चालक काठमाडौं बनस्थली बस्ने रौतहटका २५ वर्षीय रामशरण खरेल र काठमाडौं सुन्धारास्थित सिटी स्पोर्ट्सका सञ्चालक काठमाडौं सुन्धारा बस्ने झापाका ३४ वर्षीय निलम बस्नेत छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुले प्रयोग गर्ने जर्सी एन्फाले अन्तर्राष्ट्रियस्तरको ब्राण्ड केल्मी चाइना कम्पनी लिमिटेडसँग सम्झौता गरी आधिकारिक बिक्री बितरक कामारु ट्रेडिङ प्रालिलाई मात्र बिक्रि बितरणको अधिकार दिएको थियो । तर अन्य व्यक्ति तथा कम्पनीले एन्फाको नक्कली लोगो समेत प्रयोग गरी जर्सी बिक्री बितरण गरेको भन्ने सूचना प्राप्त भएपछि महाशाखाबाट खटिएको प्रहरीले उक्त जर्सी बिक्री गर्न लिई हिँडेको अवस्थामा चन्द्रदत्तलाई ३२ थान जर्सी तथा विष्णुप्रसाद र सागरको बिआरके सप्लायर्सबाट ३ सय ३८ थान जर्सीसहित उनीहरूलाई बिहीबार पक्राउ गरेको जनाएको छ ।

अनुसन्धानको क्रममा गोबिन्दको रेडिमेड स्टोरबाट २ सय ७४ थान, रामशरणको एसी स्पोर्ट्स गोदामबाट २ सय ४२ थान र निलमको सिटि स्पोर्ट्सबाट ३० थान नक्कली लोगो भएका जर्सी फेला पारी शुक्रबार उनीहरूलाई समेत प्रहरीले पक्राउ गरेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: