राष्ट्रियतालाई जोड्ने गीत संगीत बनाउनुपर्छ : पूर्वराष्ट्रपति यादव « Nagarik Khabar

राष्ट्रियतालाई जोड्ने गीत संगीत बनाउनुपर्छ : पूर्वराष्ट्रपति यादव



काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले कलाकारले तराई र पहाडलाई जोड्न अभिप्रेरित गर्ने गीत सङ्गीत बनाउनुपर्ने बताएका छन् । उनले सङ्गीत र साहित्यले बिग्रिएको सम्बन्धलाई समेत सुमधुर बनाउन सक्ने हुँदा कलाकारले हरेक क्षेत्रका नागरिकको भावनालाई बुझेर सिर्जना पस्कनुपर्ने बताए ।

गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रममा पूर्वराष्ट्रपति यादवले कलाकार र साहित्यकारले राष्ट्र निर्माणमा महत्त्वूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।

‘मुलुकमा भएका परिवर्तनका आन्दोलनमा कलाकार र साहित्यकारको योगदानको कदर गर्नुपर्छ,’ उनले भने , ‘कलाकार र साहित्यकारको खबरदारीले राज्य सञ्चालन गर्नेलाई सचेत बनाइरहेको हुन्छ ।’ उनले कलाकार र साहित्यकारले प्रकृतिसँग जोडिएका विषयवस्तुलाई उठान गर्नुपर्ने सुझाव दिए ।

पूर्वराष्ट्रपति यादवले विकासको प्रक्रियाले प्रकृतिलाई निकै हानी नोक्सानी पु¥याइरहेको भन्दै अब रचनात्मक ढङ्गले यी विषयमा कलम चलाउनुपर्ने बेला आएको बताए । ‘विकास भनेकै बाटो हो भन्ने बुझाइका कारण जथाभावी डोजर चलाउँदा पहाडका धेरै ठाउँमा पानीका मुहान सुक्दै गइरहेका छन्, जसका कारण खानेपानीको समस्या निम्तिदै गइरहेको छ ।’

सो अवसरमा विभिन्न कलाकार तथा साहित्यकारलाई पुरस्कृत गरियो । यो वर्षको राष्ट्रिय स्रष्टा पुरस्कारबाट गीतकार नगेन्द्र थापालाई नगद एक लाख रुपैयाँ र सम्मानपत्रले सम्मान गरियो । यस्तै, वर्ष गीत पुरस्कारबाट डिआर उपाध्याय र हाङयुग अज्ञात पुरस्कृत भए । वर्ष पुस्तकबाट उर्मिला कोइराला र गौरभ गुरुङलाई पुरस्कृत गरियो । उनीहरु चारै जनालाई नगद ५१ हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: