हायात होटल प्रकरण : मजदूरमाथिको कारबाही फिर्ता लिन दबाब « Nagarik Khabar

हायात होटल प्रकरण : मजदूरमाथिको कारबाही फिर्ता लिन दबाब



काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हायात) ले श्रम ऐन, २०७४ अनुसारको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका मजदूरमाथि सेवामा अवरोध पुर्याएको भन्दै कारबाही गरेको छ ।

होटल व्यवस्थापनले आन्दोलन उकास्न भूमिका खेलेको भन्दै होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहाल, नेपाल स्वतन्त्र होटल मजदूर युनियनका अध्यक्ष हेमबहादुर पण्डित, संघका कोषाध्यक्ष पुष्कर पोखरेललाई निलम्बन गरेको हो । ट्रेड युनियनमा आबद्ध विजयकुमार खत्री, शालिकराम सापकोटा, रमेश अधिकारी, शिवराम पुडासैनी, दुर्गा महत र बेलसम्बा लामालाई सातदिने स्पष्टीकरण सोधिएको छ ।

व्यवस्थापनले एकलौटी ढंगले मजदूर कर्मचारीमाथि कारबाही गरेको भन्दै तत्काल फिर्ता लिन आधिकारिक ट्रेड युनियनका अध्यक्ष दाहालले माग गरेका छन् । संगठनको आजै बसेको बैठकले कारबाही फिर्ताका लागि होटल व्यवस्थापनलाई एक साताको समयसीमा दिएको छ । एक साताभित्र कारबाही फुकुवा नभए कडा संघर्ष गर्न बाध्य हुने अध्यक्ष दाहालले चेतावनी दिए ।

कानुनमा तोकिएको सेवासुविधा माग गर्दै होटलका मजदूर तथा कर्मचारी गत जेठ ३० गतेदेखि आन्दोलनमा उत्रिएका थिए । मजदूर आन्दोलनमा गएसँगै व्यवस्थापनले होटल बन्द भएको घोषणा गरेको थियो । श्रम तथा रोजगार कार्यालय टेकुले व्यवस्थापन–मजदूर विवाद समाधान गर्न मध्यस्थता गर्ने जनाएपछि आन्दोलनरत मजदूर तथा कर्मचारी यही असार ४ गतेदेखि काममा फर्किएका थिए ।

मजदूरलाई कारबाही गरिएको विषयमा जानकारी लिन खोज्दा होटल व्यवस्थापक सम्पर्कमा आएनन् । होटलमा रहेको सरकारी जग्गा र सेयर स्वामित्वको विषयलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत होटलको सेयर र जग्गा विवादका विषयमा अध्ययन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: