चितवन । कारागार कार्यालय भरतपुरमा शनिबार राति एक कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा जिल्लाको कलैया नगरपालिका घर भएका ५८ वर्षीय भरतबहादुर थापा रहेको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
काफ्लेका अनुसार थापा विसं २०७४ मा जबर्जस्ती करणीको अभियोगमा पक्राउ परेका थिए । थापालाई क्यान्सर रोगको सङ्क्रमण देखिएपछि एक महीना अघि चितवन पठाइएको थियो ।
बाघको आक्रमणबाट घाइते सुवेदीको मृत्यु
यसैबीच बाघको आक्रमणमा परी घाइते भएका माडी नगरपालिका–६ कल्याणपुरका गङ्गाधर सुवेदीको निधन भएको छ ।
भरतपुर अस्पतालमा उपचारको क्रममा सुवेदीको शनिबार निधन भएको हो । उपचारको क्रममा सुवेदीको टाउकोको शल्यक्रियासमेत गरिएको थियो ।
असार ३ गते दिउँसो माडीको सिमरा गाउँ नजिकै काँसघारीमा गाईवस्तु चराउन गएका ६७ वर्षीय सुवेदीलाई बाघले आक्रमण गरेको थियो ।