राप्रपाको निष्कर्ष : सरकार सर्वसत्तावादतर्फ उन्मुख « Nagarik Khabar

राप्रपाको निष्कर्ष : सरकार सर्वसत्तावादतर्फ उन्मुख



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको कार्यशैली सर्वसत्तावाद उन्मुख हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

आइतबार काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसमितिको विस्तारित बैठकको निर्णय सार्वजनिक गर्दे अध्यक्ष कमल थापाले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएकोमा चिन्ता व्यक्त गरे । उनले अनुसन्धान र कारवाही गर्ने निकायहरुलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत केन्द्रीकृत गर्ने, मिडिया काउन्सिल विधेयकमार्फत आमसञ्चार माध्यमलाई नियन्त्रणमा लिने र मानवअधिकार आयोगलाई निस्कृय बनाउने प्रयासलगायतले सरकारको सर्वसत्तावादको चरित्र स्पष्ट पारेको दाबी गरे ।

अध्यक्ष थापाले प्रधानमन्त्रीले प्रधानसेनापति समेतलाई बाइपास गरी सेना परिचालनको अधिकार लिन खोज्नु, भ्रष्टाचार बढ्दै जानु, संवैधानिक निकाय, आयोग, प्रशासनलगायतमा क्षमता र योग्यताभन्दा पार्टीप्रति आस्था राख्नेलाई मात्रै नियुक्त गर्ने गरिएको टिप्पणी गरे ।

राप्रपाले विवादास्पद गुठी विधेयक फिर्ता नभई पूर्ण खारेजीको माग गरेको छ । संगठित र योजनावद्ध धर्म परिवर्तन भइरहेकोमा पनि बिस्तारित बैठकले चिन्ता व्यक्त गरेको छ । राप्रपाले सरकारलाई बुझाएको २२ बुँदे मागहरु पूरा नभए दोस्रो चरणको संघर्ष शुरु गर्ने चेतावनी दिएको छ ।

पहिलो चरणको जनसंघर्षका सबै कार्यक्रमहरुमा उत्साहजनक रुपमा उल्लेख्य जनसहभागिता रहेको निष्कर्ष निकाल्दै दोस्रो चरणको संघर्षलाई अझै सशक्त र प्रभावकारी बनाउने निर्णय बैठकले गरेको छ । राप्रपाले पार्टी एकीकरणका लागि सधंै तयार रहेको जनाएको छ । पार्टी एकताबारे केन्द्रीय समितिमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष थापाले एकताको सम्झौताको खाका पनि बुझाइसकेकाले यसबारे केन्द्रीय समितिमा बहस गर्नु आवश्यक नभएको बताए ।

राप्रपाले २०७६ साललाई संगठन निर्माणको वर्षको रुपमा लिँदै २०७७ जेठमा महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । राप्रपाको शनिवार र आइतबार केन्द्रीय कार्यसमितिको विस्तारित बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: