जुवातास खेलिरहेका ४० जना पक्राउ « Nagarik Khabar

जुवातास खेलिरहेका ४० जना पक्राउ



काठमाडौं । प्रहरीले जुवातास खेलीरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ४० जनालाई पक्राउ गरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित रामकृष्ण तोयनाको घरमा जुवातास खेलिरहेका सिन्धुपाल्चोक घर भई सल्लाघारी बस्ने ४९ वर्षीय गंगालाल श्रेष्ठ समेत १३ जनालाई नगद ६ लाख १ हजार ६ सय ८५ रुपैयाँ र ८ बुक तास सहित शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

काठमाडौं, टोखा नगरपालिका–३ बानियाँटारस्थित झम्क बहादुर थापाको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने रामेछाप सुनपति गाउँपालिका–४ का ४३ वर्षीय लाल बहादुर तामाङ लगायत ११ जनालाई नगद ७५ हजार ४ सय रुपैयाँ र ६ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

काभ्रे, धुलिखेल नगरपालिका–६ स्थित नर्थपोल होटलमा जुवातास खेलिरहेका होटल सञ्चालक सोही नगरपालिका–११ बस्ने २६ वर्षीय दिपेन्द्र धिताल लगायत ८ जनालाई नगद १ लाख ५७ हजार नेपाली रुपैयाँ, भारतीय रुपैयाँ ५ हजार ९ सय १०, युएस डलर १९, युरो ३०, अस्ट्रेलियन डलर १०, युएई धिराम १० सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी पोखरा महानगरपालिका–४ रामकृष्ण टोल बस्ने ५० वर्षीय गणेश कतिला श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा निज गणेश लगायत ८ जनालाई नगद ५९ हजार २ सय ५५ रुपैयाँ र ४ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: