मनाङमा अविरल वर्षा, पक्की पुल बगायो « Nagarik Khabar

मनाङमा अविरल वर्षा, पक्की पुल बगायो



मनाङ । निर्माण भएको एक वर्ष नबित्दै पुल बगाएपछि मनाङ सदरमुकाम चामे आउने सवारीसाधनहरु रोकिएका छन् । 

चामे र लमुजुङको बेँशीसहर जोड्ने सडकखन्डमा पर्ने म्यार्दी खोलाको पुल बाढीले बगाएको हो । गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण भासिएको पुल बाढीले बगाएको हो ।

गतवर्ष मात्रै क्याराभान कन्सल्टेन्सीले २०७५ भदौमा निर्माण सम्पन्न गरेको थियो । दुई करोड रुपैयाँभन्दा बढी खर्च गरेर निर्माण गरिएको पुल वर्षदिन नहुँदै भत्किँदा पर्यटक र सर्वसाधारण मर्कामा परेका छन् । मनाङका पाँच वटा खोलामा मोटरेवल पुल निर्माणको ठेक्का लिएको यस कम्पनीले अन्य पुल निर्माण कार्य थालेर छाडेको छ।

बनाएको पनि भत्किँदा र अरु निर्माणधीन भएकाले बर्खाको समयमा सास्ती झेल्नु परेको स्थानीयको गुनासो गरेका छन् ।

निरन्तर झरीले चामेमा बजारमा बाढी पसेको छ । बजारका घरहरु जलमग्न हुना थाले पछि सेना, प्रहरी परिचालन गरी बजार वरपर सुरक्षित गर्ने काम भएको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । वर्षाका कारण सवारीसाधानहरु बीच बाटैमा अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: