साझा यातायातका थप २० बस आउँदै « Nagarik Khabar

साझा यातायातका थप २० बस आउँदै



काठमाडौं । साझा यातायात सहकारी संस्थाले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा थप २० बस सञ्चालन गर्ने भएको छ । राष्ट्रिय सभागृहमा बसको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ ।

यही असार १६ गते अहिले भित्रिएका नयाँ बस सञ्चालनको शुभारम्भ कार्यक्रमपछि लगत्तै सञ्चालनमा आउने संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । उनका अनुसार यी बसका मार्ग अनुमति (रुट परमिट) लिइसकेकाले चाँडै सञ्चालनमा आउनेछन् ।

यी बसले काठमाडौंका विभिन्न स्थान हुँदै भक्तपुर र ललितपुर परिक्रमा गर्ने गरेर अनुमति पाएको उनले बताए ।

नयाँ बसपार्कबाट जडीबुटी हुँदै कमलविनायकसम्मको एउटा मार्ग र चाबहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लगनखेलसम्मको अर्काे मार्ग तय भएको उनले बताए ।

‘साझा यातायातले स्थानीय तहसँग समन्वय गरेर बढी आवश्यक ठाउँमा बस थप गरेको हो,’ उनले भने ।

वि.सं. २०१६ मा स्थापित उक्त संस्थाको लामो समयसम्म सेवा अवरुद्ध भएपछि वि.सं. २०७० मा सेवा पुनः सुरु भएको थियो । अहिले साझाका ७१ बस नियमित सञ्चालनमा छन् । यीमध्ये एउटा लो फ्लोर बस (अपाङ्गता र ज्येष्ठ नागरिकका लक्षित बस) र चार वटा उपत्यका बाहिर चल्ने सुविधासम्पन्न (डिलक्स) बस छन् भने बाँकी शहरी बस रहेका संस्थाले जनाएको छ ।

केही महीनापहिले कार्डमार्फत भाडा तिर्ने प्रविधि (इटिकेटिङ) सुरु गरेको साझाले तीन तहका सरकारसँगको सहकार्यमा विद्युतीय बस सञ्चालनको योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: