आर्थिक मामिलामन्त्री ढु‌ंगेलको प्रष्टोक्ति- बजेटमा विभेद गर्दैनौं « Nagarik Khabar

आर्थिक मामिलामन्त्री ढु‌ंगेलको प्रष्टोक्ति- बजेटमा विभेद गर्दैनौं



हेटौंडा । प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेललले जनसंख्या र भूगोलका आधारमा लक्षित समुदायलाई विनियोजित गरेको बजेटमाथि कुनै विभेद नगरी कार्यान्वयन गर्ने बताएका छन् ।

आइतबारको प्रदेशसभा बैठकमा मन्त्री ढुंगेलले आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि प्रस्तुत राजश्व र व्ययको अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उक्त कुरा बताएका हुन् । प्रस्तुत गरिएको बजेटमा पूँजीगतभन्दा चालू खर्चमा स्थानीय तहमा जाने अनुदान, कर्मचारीको तलब भत्ता, मन्त्रालयको मर्मत संहार र भवन निर्माण तथा दैवी प्रकोप उद्धार गर्ने क्रममा बजेटको आकार बढेको उनको भनाइ थियो ।

उनले चालू खर्चको कार्यान्वयनका क्रममा कुनै अनियमित कार्य नहुने र प्रत्यक्ष अधिकार प्राप्त पदाधिकारीलाई अनुगमनका लागि प्रदेशमा पठाइने र सो प्रतिवेदन प्राप्त भएपछि अनियमित गर्ने संस्था वा व्यक्तिलाई कारवाही गरिने जानकारी दिए ।

मन्त्री ढुङ्गेलले आदिवासी, जनजाति, दलित, समुदायका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने र ती समुदायका लागि उत्थान गर्ने कार्यक्रमलाई प्रभावकारी तुल्याउन निर्देशिका तयार गरी लागू गरिने दृढता व्यक्त गरे । मौजुदा बजेटलाई आधुनिक प्रविधिबाट कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रदेशसभाका सदस्यहरुले पनि आफ्नो जिम्मेवारी र उत्तरदायित्वभित्र रहनुपर्ने विचार व्यक्त गरे ।

पूर्वाधार विकास कोषको तीन करोड अनुदानप्रति जनतालाई केन्द्रविन्दुमा राखेर प्रत्येक निर्वाचन क्षेत्रको विकासलाई पारदर्शी र निष्पक्षका साथ बैंक परियोजनाबाट योजनाहरु कार्यान्वयनमा ल्याउन उनले आह्वान गरे । आइतबारै बसेको दोस्रो बैठकमा आर्थिक विनियोजित विधेयक ०७६/७७ को दफावार छलफलका लागि प्रस्ताव पेश गरेका थिए ।

उक्त बैठकमा कृषि र स्वास्थ्य शिक्षा समितिका सभापति घनश्याम दाहालले प्रदेशमा जलचरको व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन समितिका तर्फबाट प्रस्तुत गरेका थिए । प्रदेशसभाको अर्को बैठक यही असार ९ गते दिनको २ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: