एनआरएन युकेको अध्यक्षमा पुनम गुरुङको उम्मेदवारी घोषणामै देखियो माहोल « Nagarik Khabar

एनआरएन युकेको अध्यक्षमा पुनम गुरुङको उम्मेदवारी घोषणामै देखियो माहोल



  • मिलन तमु

बेलायत । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्षमा पुनम गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

अल्डरसटमा आयोजना गरिएको उम्मेदवारी घोषणा कार्यक्रममा पुनमले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरे ।

एनआरएन युकेको आगामी कार्यसमिति २०१९ २०२१ का लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने उनी पहिलो महिला उम्मेदवार हुन् । उनले गैरआवासीय नेपाली संघ युकेलाई बेलायत बस्ने सबै नेपालीको साझा संगठनको रुपमा स्थापित गर्दै सबैका लागि समान काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनका शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति रहेको एम्पायर हलमा उनले प्रतिवद्धता व्यक्त गरिरहँदा गडगडाहट तालीले गुञ्जायमान बनेको थियो ।
एनआरएन युकेको कार्यसमितिको निर्वाचन आगामी १४ सेप्टेम्वरमा हुँदैछ ।

माहोलपूर्ण कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थितीमा आफ्नो उम्मेवारी घोषणा गर्दै गुरुङले एनआरएन नागरिकता, नेपालमा लगानी, पर्यटन प्रवद्र्धन, नेपाल बेलायत सम्वन्ध, युवा महिला, भूपू गोर्खा लगायतको मुद्धामा आफुले सशक्त र प्रभावकारी रुपमा काम गर्ने प्रतिवद्धता जनाएका छ ।

गुरुङको चुनावी प्रचारप्रसारको लागि ५ सय १ जना रहेको निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको कार्यक्रम संयोजक चन्द्र गुरुङले जनाए ।

कार्यक्रममा गेसो अध्यक्ष कृष्ण कुमार राई, एनआरएन नेता कृष्ण तिमल्सिना, आइसीसी सदस्यहरु रामशरण सिम्खडा, शान्ति थापा, तमुधिं युके अध्यक्ष नन्दजङ गुरुङ, व्यवसायी कमल पौडेल, ग्रेटर रस्मुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेलवासे, तमू प्हे ल्हु संघ युकेका अध्यक्ष मे (रि) खुशीमान गुरुङ, तमु समाज युकेका अध्यक्ष शीव गुरुङ लगायतको उपस्थिति थियो ।

अध्यक्षमा गुरुङको उम्मेदवारी
एनआरएन युकेलाई अझै प्रभावकारी संस्थाको रुपमा विकास गर्न “समृद्ध नेपालको लागि प्रवासी नेपालीको सहभागिता, समावेशी र कुशल नेतृत्व एनआरएनको आवश्यकता” भन्ने मूल नाराका साथ विभिन्न प्रतिबद्धताहरुसहित आफू अध्यक्ष पदको प्रत्यासी बनेको गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

चुनावी प्रतिबद्धता कस्ता ?
नेपाली नागरिकताको निरन्तरता, समृद्ध नेपाल निर्माणमा अग्रसरता जनाउने गुरुङको प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।

‘गैर–आवासीय नेपालीहरुको कमाईले नेपालको अर्थतन्त्र धानिएको छ । देशको एकतिहाई ढिकुटी भर्ने यी गैर–आवासीय नेपालीहरुलाई ‘समृद्ध नेपाल निर्माण’ को दिगो साझेदार बनाउने एउटै मात्र सुत्र “नेपाली नागरिकताको निरन्तरता” हो । मैले नेपाली आमाका यी सन्ततीहरुलाई सदा नेपाली नै बनाईराख्न ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मासाथ गरी ‘नेपाली नागरिकताको निरन्तरता’ अभियानलाई तिब्र बनाउने योजना बनाएकी छु ।’

उनको प्रतिवद्धतापत्रमा भनिएको छ, ‘यस प्रयोजनको लागि नागरिकता निरन्तरताको अभियन्ताहरुबीच एउटा स्थायी संयन्त्र गठन गर्नेछु, र नेपाल सरकार, संसद, राजनैतिक नेतृत्व, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र मिडियासंगको निरन्तर पहलकदमीलाई अघि बढाउनेछु ।’

यसैगरी सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको अवस्थामा यसलाई सफल बनाउन अधिकतम बेलायतवासी पर्यटकहरुलाई नेपाल भ्रमणको निम्तो दिने काममा आफ्नो कार्यसमितिले अग्रसरता लिने गुरुङको प्रतिवद्धता छ ।

यसैगरी सामुहिक लगानी कोषको निर्माणका साथै ब्रिटेन–नेपाल र नेपाली–ब्रिटिश समुदायबीचको प्रगाढ सम्बन्धलाई प्रबद्र्धन गर्ने कार्यमा पनि आफ्नो सक्रियता रहने उनको प्रतिबद्धतापत्रमा उल्लेख छ।

भूपू गोर्खा सैनिकको आन्दोलनमा साथ दिने, महिला सशक्तिकरण र महिला उद्यमशिलताको विकासमा लागिपर्ने उनले बताएकी छिन् ।

बेलायतमा रहेका युवापुस्ताको ज्ञान, विज्ञान, कला र दक्षतालाई थप परिस्कृत बनाउन सहयोगी भूमिका खेल्ने पनि प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।

‘युवाको उज्ज्वल भविष्यप्रतिको आत्मविश्वास जगाउन युवा खेलकूद, युवा शिक्षा, युवा जागरण, युवा उद्यमजस्ता कार्यक्रमहरु आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । हालै नेपालमा सम्पन्न आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा गैरआवासीय नेपाली खेलाडीहरुले विभिन्न इभेन्टमा १४ वटा मेडल जितेको परिप्रेक्ष्यमा हाम्रा युवकहरुमा खेलकुद, अनुशासन र विकासको अवधारणालाई अगाडि बढाउँदै उनिहरुमा अन्तरनिहित क्षमतालाई प्रस्फुटन हुन मद्दत पु¥याउने प्रतिबद्धता व्यक्त गर्दछु’, उनको प्रतिवद्धतापत्रमा भनिएको छ ।
बौद्धिक ज्ञान र प्रबिधिको हस्तान्तरण अभियान सञ्चालन गर्ने, नेपाली संघसंस्थाबिचको एकतालाई सुदृढ बनाउने, बेलायतको जनगणनामा नेपालीको पहिचान स्थापित गर्ने जस्ता विषय पनि उनको चुनावी प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।

बेलायतमा नेपाली पहिचान झल्किने ‘नेपालीहरुको साझा घर’ निर्माण गर्ने अभियानलाई मूर्तरुप दिनेगरी ठोस कार्यक्रमहरु ल्याउने प्रतिबद्धता पनि उनले गरेकी छन् । सँगसँगै नेपालीको मौलिक भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्धन गर्ने, मानवीय र कल्याणकारी कामको सवालमा सक्रियता जनाउने, नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको समस्या समाधानको पहल गर्ने, सांगठनिक सुदृढिकरण र पारदर्शितामा जोड दिने, एनआरएन युकेका सदस्यताको व्यवस्थित अभिलेखिकरण गर्ने, संघको सदस्यता बढाउने, आर्थिक पारदर्शीता र नीतिगत स्पष्टता गर्नेलगायतका विषय पनि उनको प्रतिवद्धतापत्रमा समेटिएका छन् ।

बेलायतमा पपुलर पुनम

एनआरएन युकेकी उपाध्यक्ष समेत रहेकी उनले क्यान्सर रिसर्च युकेमा सन् २०१३ देखि स्वयंसेवी भइ काम गरेकी छिन् ।

साथै, क्यान्सर पीडित र नेपालका गरिब तथा जेहेन्दार बालवालिकाहरुको सहयोगार्थ च्यारिटीका विविध कार्यक्रमहरु गर्दै आएकी उनले एनआरएन यूकेको उपाध्यक्षको भुमिकामा रहँदा कार्यवाहक अध्यक्ष भइ नेतृत्वदायी भूमिका पनि निर्वाह गरेकी गरेकी छिन् ।
उनकै संयोजकत्वमा एनआरएन युकेको संघसंस्था प्रतिनिधि परिषदको सभा आयोजना सफलतापूर्वक भएको थियो ।

एनआरएन युकेको सदस्यता बढाउने अभियानको अगुवाइ गर्नुका साथै राज्यपरिषदहरुको गठन प्रक्रियामा प्रत्यक्ष सहभागी उनी एनआरएन युकेलाई अझै व्यवस्थित रुपमा परिचालन गर्न सक्रिय छिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: