सङ्खुवासभामा पहिरो, २८ परिवार विस्थापित « Nagarik Khabar

सङ्खुवासभामा पहिरो, २८ परिवार विस्थापित



सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा पहिरोका कारण २८ परिवार विस्थापित भएका छन् । गएको साता मुसलधारे पानीपछि पहिरो जाँदा उनीहरु विस्थापित भएको स्थानीयवासी मक्करध्वज राईले बताए ।

‘पहिरोले अन्नबाली र अलैँची सखाप पारेको छ,’ उनले भने, ‘पीडित परिवार उद्धारको पर्खाइमा छन् ।’ घरमा बस्न सक्ने अवस्था नहुँदा विस्थापित परिवार नजीकैको खुला ठाउँमा बसेका छन् । घरमा भएको अन्नपात सकिएपछि उनीहरुलाई के खाने भन्ने चिन्ता परेको राईले बताए ।

स्थानीयवासी शैलेन्द्र राई पहिरोका कारण बाटोघाटो भन्द भएको बताउँछन् । खानेपानीको मुहानसमेत पहिरोले बगाएको छ । ‘आकाशेपानी संकलन गरेर पिउने गरेका छौं,’ उनले भने । पेपुवाबाट मकालु गाउँपालिकाको केन्द्रसम्म पुग्न सात घण्टा लाग्छ । उनीहरु किनमेल गर्न नुम र हेदाना बजार पुग्न सकिरहेका छैनन् ।

पहिरो पीडितका लागि मकालु गाउँपालिकाले राहत सामग्री सदरमुकाम खाँदबारीमा तयारी अवस्थामा राखेको प्रजिअ जीवनप्रसाद दुलालले बताए । गाउँपालिकाले विस्थापितका लागि चामल ११७ बोरा, दाल १२ बोरा, एक सय किलो नुन, पाइप, पानी राख्ने ट्यांकी र ७४ त्रिपाल खरीद गरेको छ । ‘मौसमका कारण उद्धार र राहत उपलब्ध गराउन समस्या भएको हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: