दक्षिण अफ्रिका पनि विश्वकपबाट बाहिरियो, पाकिस्तानसँग ४९ रनले पराजित « Nagarik Khabar

दक्षिण अफ्रिका पनि विश्वकपबाट बाहिरियो, पाकिस्तानसँग ४९ रनले पराजित



लण्डन । दक्षिण अफ्रिका एकदिवसीय क्रिकेट विश्वकपबाट बाहिरीएको छ । आइतबार भएको खेलमा पाकिस्तानसँग ४९ रनले पराजित भएसँगै दक्षिण अफ्रिका प्रतियोगिताको सेमिफाइनल पुग्ने होडबाट बाहिरिएको हो ।

प्रतियोगितामा दक्षिण अफ्रिकाको अझै दुई खेल बाँकी रहेको छ । यद्यपि यी दुई खेलमा जित हात पारेको अवस्थामा समेत दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रा सम्भव हुने छैन । दक्षिण अफ्रिकालाई पराजित गरेको पाकिस्तानले भने सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राखेको छ ।

लर्ड्समा टस जिती पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर तीनसय आठ रनको योगफल तय गरेको थियो । जवाफी ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा नौं विकेट गुमाएर दुईसय ५९ रन मात्रै जोड्न सकेपछि पाकिस्तानको जित पक्का भएको थियो ।

पाकिस्तानका लागि हारिस सोहेलले ८९ र बाबर अजमले ६९ रनको योगदान दिए । सोहेलले ५९ रनको आफ्नो पारीमा तीन छक्का र नौं चौका प्रहार गरेका छन् ।

अजमले भने सात चौका प्रहार गरे । यी दुई खेलाडीले चौथो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए । त्यसअघि प्रारम्भिक ब्याट्सम्यानद्धय इमाम उल हक र फखर जमामले समान ४४/४४ रनको योगदान गरेका थिए ।

यी दुई खेलाडीले पनि पहिलो विकेटका लागि ८१ रनकै साझेदारी गरेका थिए । इमाद वासिमले २३ र मोहम्मद हाफिजले २० रन जोड्दा अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकाका लागि फफ्फ दु प्लेसिसले ६३ रनको योगदान दिए पनि टोलीको जित सम्भव भएन । दु प्लेसिसले आफ्नो पारीमा पाँच चौका प्रहार गरेका थिए ।

यस्तै प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डी ककले ४७, एन्दिली फेहलुक्वायोले अविजित ४६, भान डर दुसेनले ३६, डेभिड मिलरले ३१ र क्रिस मोरिसले १६ रन जोड्दा अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

पाकिस्तानका शादव खान र वाहब रियाजले तीन/तीन विकेट लिएका थिए । यस्तै मोहम्मद आमिरले महत्वपूर्ण दुई विकेट लिए । दक्षिण अफ्रिकाका लुन्जि एन्जिदीले तीन तथा इमराम ताहिरले दुई विकेट लिएका छन् । ताहिर विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक विकेट लिने खेलाडीसमेत बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: