अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाइनलमा « Nagarik Khabar

अर्जेन्टिना कोपा अमेरिकाको क्वार्टरफाइनलमा



पोर्ताे अलेग्री (ब्राजिल) । अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको खेलमा प्रतियोगिताको पाहुना टोली कतारलाई २–० गोलले पराजित गर्दै अर्जेन्टिनाले प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

‘हामी आफूभित्र आत्मविश्वास ल्याउँन र शान्तिका लागि पनि यो जित आवश्यक थियो’, खेलपछि टोलीका कप्तान लियोनल मेसीले भने, ‘मलाई यो जितको सबैभन्दा महतवपूर्ण पक्ष टोलीले देखाएको एटिच्युड लागेको छ । उनीहरूले जितका लागि इच्छा देखाएका छन् ।’

अर्जेन्टिना समूह बीको उपविजेता बन्दै प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । समूह बीबाट कोलम्बिया समूह विजेताको रुपमा क्वार्टरफाइनलमा पुगेको छ । सोमबार बिहान भएको खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै कोलम्बिया समूह विजेता बनेको हो । कोलम्बियाको यही नतिजाले अर्जेन्टिनाको पनि क्वार्टरफाइनल यात्रा निश्चित भएको हो ।

प्रतियोगितामा तेस्रो खेल खेलेको अर्जेन्टिनाको यो पहिलो जित हो । अर्जेन्टिना यसअघि पहिलो खेलमा कोलम्बियासँग २–० ले पराजित भएको थियो । त्यसपछि भएको दोस्रो खेलमा पाराग्वेसँग १–१ को बराबरीमा रोकिएको थियो ।

अर्जेन्टिनाले क्वार्टरफाइनल चरणको खेलमा भेनेजुएलासँग प्रतिस्पर्धा गर्ने छ । एसियन च्याम्पियन कतारविरुद्ध पनि अर्जेन्टिनाले जितका लागि निक्कै संघर्ष गर्नुपरेको थियो ।

खेलमा अर्जेन्टिनाले खेल सुरु भएको चौथो मिनेटबाटै अग्रता बनाएको थियो । कतारी रक्षक बासाम अल रावीले गरेको गल्तीपछि लउटारो मार्टिनेजले अर्जेन्टिनालाई अगाडि राखेका थिए । त्यसपछि खेलको ८२औं मिनेटमा सर्जियो अगुएरोले गोल गरेपछि अर्जेन्टिनाको जित निश्चित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: