विप्लव सर्लाही इञ्चार्ज मृत्यु प्रकरण : समिति बैठकमै सांसद गौतम भक्कानिए (भिडियो) « Nagarik Khabar

विप्लव सर्लाही इञ्चार्ज मृत्यु प्रकरण : समिति बैठकमै सांसद गौतम भक्कानिए (भिडियो)



काठमाडौं । सोमबार संसदको राज्य व्यवस्था समितिको बैठक चलिरहेको थियो । विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु प्रकरणमा गृहमन्त्री रामबहादुर थापासँग छलफल चल्दै थियो । सोही सन्दर्भमा त्यहाँ आफ्नो धारणा राख्ने क्रममा नेकपा सांसद तीर्था गौतम गहभरि आँशु पारिन् । स्तव्ध भइन् ।

भक्कानिँदै उनले एकपटक इतिहास सम्झन आग्रह गरिन् । सांसद गौतमले भनिन्, ‘आज एउटा नेपालीको छोरो मरेको छ, त्यो नेपाली भोलि यो देशलाई पनि काम लाग्न सक्ने मान्छे हो । सपुत हो । हामीले यस्ता चिजहरु गर्दा पुरानो इतिहास सम्झौं । स्मरण गरौं ।’

विप्लवका कार्यकर्ताको मृत्यबारे छलफलमा सहभागी सांसद तीर्था गौतम आफैँ द्वन्द्वपीडित हुन् । तीर्थाका श्रीमान एवं रुकुमका एमाले नेता यदु गौतमको ०५५ साल फागुन २१ गते तत्कालीन नेकपा माओवादीको कारवाहीमा मृत्यु भएको थियो ।

सोमबार संसदीय समितिको बैठकमा सांसद गौतमले त्यो जनयुद्धको घाउको खाटा मरिनसकेको उल्लेख गरिन् । ‘१० बर्षको घाउको खाटा मरेको छैन् । सत्य निरुपण आयोग होस्, मेलमिलाप आयोगले घाउलाई झझल्को दिइरहेको छ । फेरि द्वन्द्व चर्कियो भने देश कता जान्छ ?’

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज पौडेल यही असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका १ लखनदेहीस्थित जंगलको पश्चिम खोला किनारामा प्रहरीको गोलीबाट मारिएका थिए । उनको मृत्यु प्रहरीसँगको मुडभेडका क्रममा भएको हो कि, प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको ? भन्ने प्रश्न उठेपछि राज्य व्यवस्था समितिले सत्यतथ्य छानविन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न सोमबार गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: