बाँदरमुढे घटना सम्झँदै प्रचण्डले भने: माडीलाई अब मणि बनाइन्छ « Nagarik Khabar

बाँदरमुढे घटना सम्झँदै प्रचण्डले भने: माडीलाई अब मणि बनाइन्छ



चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको बाँदरमुढे घटनाका पीडितको राहतका लागि सबै तहका सरकारले काम गर्ने प्रतिवद्धता जनाएका छन् । सोमवार चितवनको माडी नगरपालिकाको नगरसभा उद्घाटन गर्दै प्रचण्डले माडीलाई मणि बनाउने घोषणा गरेका हुन् ।

बाँदरमुढे घटनाको स्मरण गर्दै प्रचण्डले घटनामा ज्यान गुमाउनेको सम्झनामा कम्तिमा १० करोड खर्च गरेर पार्क निर्माण गरिने बताए । त्यसका लागि संघीय सरकारले बजेट विनियोजनको काम थालिसकेको जानकारी गराएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बाँदरमुढे घटनाको चर्चा भएको भन्दै प्रचण्डले घटनामा पीडित बनेकाहरुलाई सरकारले रोजगारीको व्यवस्था गर्ने बताए । उनले नमूना बस्तीको रुपमा समेत बस्ती बनाउने प्रकृया अगाडि बढेको जानकारी दिएका छन् । 

माडी क्षेत्र बिकासको दृष्टिले पछि परेको भन्दै प्रचण्डले संघ, प्रदेश र स्थानीय तहको तर्फबाट माडीलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । उनले दुख कष्टको माडीलाई अब मणिमा परिवर्तन गर्न सकिने बताएका छन् ।

विक्रम संवत २०६२ साल जेठ २३ गते तत्कालिन बिद्रोही माओवादीले थापेको विद्युतिय धराप बिस्फोटमा परेर ४१ जनाको मृत्यु भएको थियो । बाँदरमुढे घटनालाई लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा तात्कालिन ने क पा माओवादीको चर्को आलोचना र बिरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: