शकिबको अलराउण्ड प्रदर्शनमा बंगलादेशको महत्वपूर्ण जित « Nagarik Khabar

शकिबको अलराउण्ड प्रदर्शनमा बंगलादेशको महत्वपूर्ण जित



लण्डन । शकिब अल हसनको अलराउण्ड प्रदर्शनमा बंगलादेशले जारी एकदिवसीय क्रिकेट विश्वकपमा महत्वपूर्ण जित हात पारेको छ । सोमबार भएको खेलमा बंगलादेशले अफगानिस्तानमाथि ६२ रनको जित हात पारेको हो ।

यो जितसँगै बंगलादेशले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । प्रतियोगितामा सात खेलबाट सातै अंक बनाएको बंगलादेश अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको अफगानिस्तान भने सात खेल खेलिसक्दा अझै जितविहीन अंकतालिकाको पुछारमा रहेको छ । साउथह्याम्पटनमा टस हारी पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुईसय ६२ रनको योगफल तय गरेको थियो ।

जवाफमा आएको अफगानिस्तान ४७ ओभरमा दुईसय रनमा समेटिएको थियो । बंगलादेशलाई यो महत्वपूर्ण जित दिलाउन शकिबले बल र ब्याट दुबैबाट सशक्त प्रदर्शन दिए । टोलीका लागि ५१ रनको अर्धशतकीय योगदान दिएका उनले पाँच विकेटसमेत लिए ।

ब्याटिङतर्फ उनीबाहेक मुस्फिकर रहिमले ८३ रनको महत्वपूर्ण योगदान दिए । आफ्नो पारीमा एक छक्का र चार चौका प्रहार गरेका मुस्फिकरसँग मिलेर शकिबले तेस्रो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । त्यसबाहेक तमिम इक्बाल ३६, मोसाद्देक हुसेन ३५, महमुदुल्ला २७ र लिटोन दाश १६ रनमा आउट भए ।

शकिबले सशक्त बलिङ प्रदर्शन गर्दा अफगानिस्तानका लागि शमिउल्लाह शेन्वारीले अविजित ४९ रन जोड्नबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले गतिले प्रदर्शन गर्न सकेनन् । यस्तै गुल्बदिन नइबले ४७, रहमत शाहले २४ र नजिबुल्लाह जद्रानले २३ रन जोडेका थिए ।

१० ओभर बलिङ गरेका शकिबले एक मेडनसहित २९ रन मात्रै खर्चिएका थिए । उनी म्यान अफ दी म्याचसमेत चुनिए । अफगानिस्तानका मुजिव उर रहमानले तीन तथा गुल्बदिन नइबले दुई विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: