मेयरलाई क्या मस्ती : गाडी र घरको क्षतिपूर्ति बिमाबाट लिएर सरकारसँग पनि मागे पैसा « Nagarik Khabar

मेयरलाई क्या मस्ती : गाडी र घरको क्षतिपूर्ति बिमाबाट लिएर सरकारसँग पनि मागे पैसा



झापा । स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपूर्ति लिएका बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले एक वर्षअघि नै दुवैको बिमा रकम लिएको खुलासा भएको छ । २२ असार ०७५ मा एनएलजी इन्स्योरेन्सको बिर्तामोड शाखाबाट घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार नौ सय ८३ गरी ६ लाख ३५ हजार नौ सय ८३ रुपैयाँ लिएका हुन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

‘मेयर सा’बले १३ कात्तिक ०७४ मा घरको र १४ कात्तिकमा गाडीको बिमा रकमका लागि हाम्रो बिर्तामोड शाखामा निवेदन हाल्नुभएको थियो । २२ असार ०७५ मा दुवैको क्षतिबापतको रकम भुक्तानी दिइएको छ,’ एनएलजी इन्स्योरेन्सका एक कर्मचारीले भने, ‘घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार नौ सय ८३ गरी जम्मा ६ लाख ३५ हजार नौ सय ८३ रुपैयाँ भुक्तानी दिइएको छ ।’

इन्स्योरेन्स कम्पनीमा भएको रेकर्डअनुसार गाडी मेयर सिवाकोटीकै नाममा र घर श्रीमती विद्या बस्नेतको नाममा छ । गाडीको बिमा रकम मेयर सिवाकोटीको नाममा भुक्तानी दिएको र घरको भने सिंहबाहिनी टी स्टेट प्रालिको नाममा चेक बनाएर दिएको इन्स्योरेन्सका कर्मचारीले बताए । सिंहबाहिनी टी स्टेट मेयरको फर्म हो ।

मेयर सिवाकोटीले गाडीको बिमा गरिएको भए पनि बिमा कम्पनीले रकम दिन नमानेको नयाँ पत्रिकालाई बताएका थिए । ‘बिमा कम्पनीले तीन लाख मात्र दिन्छु भनेपछि मेरो दिमाग खराब भयो, छाडिदिएँ । त्यो कम्पनीको नाम पनि मलाई थाहा छैन ,’ मेयरले भनेका थिए । बिमा र सरकारबाट दोहोरो रकम लिएकोबारे सोमबार जानकारी लिन खोज्दा मेयर सिवाकोटी सम्पर्कमा आउन चाहेनन् । 

मोटरसाइकल पनि छोराको नाममा नभएको खुल्यो

मेयर शिवाकोटीका छोरा नेपाल रत्नले मे।७प ३००० नम्बरको बुलेट मोटरसाइकल आफ्नो भएको, नबन्ने अवस्थामा रहेपछि ग्यारेजमा थन्किएको र बिमा गरिएको भए पनि दाबी नगरेको बताएका थिए । तर, यातायात व्यवस्था कार्यालय मेचीको रेकर्डअनुसार यो नम्बरको मोटरसाइकल झापाकै अनारमनीका उद्धिन न्यौपानेको नाममा देखिन्छ । न्यौपाने मेयर सिवाकोटीका छोरीज्वाइँ हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: