विश्वकपमा आज : दुई पुराना प्रतिद्धन्दीबीचको भिडन्त « Nagarik Khabar

विश्वकपमा आज : दुई पुराना प्रतिद्धन्दीबीचको भिडन्त



लण्डन । एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत ३२औं खेलमा इङ्ल्यान्ड र अस्ट्रेलिया भिड्दै छन् । ऐतिहासिक लर्ड्स मैदानमा हुने यो खेल पनि उत्तिकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

इङ्ल्यान्डले आफ्नो सुरुवाती पाँचमध्ये चार खेलमा जित हात पार्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको थियो । श्रीलंकाविरुद्ध २० रनले पराजित हुँदा मात्रै प्रतियोगितामा इङ्ल्यान्डको विजयी यात्रा रोकिएको थियो ।

उपाधि दाबेदार टोलीको रुपमा प्रतियोगिताको सुरुवात गरेको इङ्ल्यान्डका लागि अझ प्रतिस्पर्धात्मक खेल अब सुरु हुँदै छ । त्यसमध्ये अस्ट्रेलियाविरुद्धको खेल पहिलो हो । त्यसअघि आफ्नो महत्वपूर्ण खेलाडी जासन रोय चोटका कारण टोलीबाट बाहिर रहँदा इङ्ल्यान्डलाई केही मुस्किल देखिएको छ ।

अंकतालिकाको दोस्रो स्थानमा रहेको अस्ट्रेलिया पछिल्लो समय जितको लयमा छ । विशेष गरी उनीहरुका प्रारम्भिक ब्याट्सम्यान र स्ट्राइक बलरहरुको लयका कारण साविक विजेता अस्ट्रेलिया फेरि पनि उपाधि दाबेदार टोलीको रुपमा उपस्थित छ ।

यी दुई टोलीबीच ५० ओभरको क्रिकेटमा यसअघि भएको खेलको नतिजालाई आधार मान्ने हो भने अस्ट्रेलिया नै बलियो देखिएको छ । अहिलेसम्म भएका एकदिवसीय खेलमध्ये अस्ट्रेलियाले ८१ खेलमा जित हात पारेको छ भने इङ्ल्यान्ड ६१ खेलमा विजयी छ ।

यी दुई टोलीबीच भएको पछिल्लो खेलमा भने इङ्ल्यान्डले अग्रता लिएको छ । यी दुई टोलीबीचको पछिल्लो १० खेलमध्ये नौंमा इङ्ल्यान्ड विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: