ललितपुर महानगरपालिकाको बजेट पाँच अर्ब १७ करोड « Nagarik Khabar

ललितपुर महानगरपालिकाको बजेट पाँच अर्ब १७ करोड



ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि पाँच अर्ब १७ करोड ९६ लाख ३२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

ललितपुर महानगरपालिकाको मंगलबार ललितपुरमा आयोजित चौंथो नगरसभामा प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षका लागि उक्त बजेट पेश गरेका हुन् । नगरसभामा पेश गरिएको बजेटमा सबैभन्दा बढी पूर्वाधार विकासमा खर्च गर्ने उल्लेख गरिएको छ ।

पूर्वाधार विकासका लागि दुई अर्ब सात करोड ३६ लाख तीन हजार रुपैयाँ बजेट विनियोजन गरिएको हो । प्रमुख महर्जनले पूर्वाधार विकासका लागि छुट्याइएको यो बजेट कुल बजेटको ३८ दशमलव ७५ प्रतिशत रहेको जानकारी दिए ।

त्यसैगरी आगामी आर्थिक वर्षको चालू खर्चका लागि एक अर्ब १२ करोड ५९ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ । यो कुल बजेटको २१ दशमलव ७४ प्रतिशत हो । सामाजिक सुरक्षाका लागि ४६ करोड, आर्थिक विकासका लागि ७५ करोड ३४ लाख पाँच हजार, सामाजिक विकासका लागि १६ करोड ८४ लाख ४५ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा १६ करोड ५५ लाख, संस्थागत विकास र सुशासनका लागि २ करोड २५ लाख बजेट पनि विनियोजन गरिएको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेट, नीति तथा कार्यक्रममा ‘एक घर एक उद्यम’को अवधारणालाई उच्च प्राथमिकता दिइएको छ । महानगरलाई समुन्नत सांस्कृतिक सहर बनाउने मुख्य उद्देश्यका साथ बजेट, नीति तथा कार्यक्रम तय गरिएको प्रमुख महर्जनले बताए । उनले बजेटमा पर्यटन विकासको माध्यामबाट आर्थिक वृद्धि गर्ने लक्ष्य निर्धारण गरिएको पनि बताए ।

त्यसैगरी दिगो सहरी पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह, सुशासन, पारदर्शिता र जवाफदेहिता, सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माण, वातावरणमैत्री स्थानीय शासन व्यवस्था, अपांगमैत्री पूर्वाधार निर्माण, स्वास्थ्य क्षेत्रका सर्वसाधारणको पहुँचमा वृद्धि, गरिवी न्युनीकरण, विषादीरहित करेसाबारी तथा कृषिमा आधुनिकीकरण, वडालाई विकासको केन्द्रविन्दु बनाउने अभियानलाई पनि प्राथमिकता दिने बजेटमा उल्लेख गरिएको छ ।

बजेट, नीति तथा कार्यक्रममा भूकम्पपछिको पुनर्निर्माण र विपद् न्युनीकरणलाई पनि प्राथमिकतामा राखिएको पनि प्रमुख महर्जनले बताए । ललितपुर महानगरपालिकाले नगरलाई हरियाली बनाउन आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा हरेक वडामा एक ‘हरियाली पार्क’ निर्माण गर्ने घोषणा पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: