लगानी बढाउन ऊर्जामन्त्रीको आग्रह « Nagarik Khabar

लगानी बढाउन ऊर्जामन्त्रीको आग्रह



काठमाडौं । सरकारको नेपालको ऊर्जा तथा जलविद्युतको क्षेत्रमा थप लगानी गर्न चीन सरकारलाई आग्रह गरेको छ । शिष्टाचार भेटका लागि पुगेकी चिनिया राजदूत होउ यान्छीसँग ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उक्त आग्रह गरेका हुन् ।

मन्त्री पुनले सरकारले ऊर्जा क्षेत्रको विकास र बजार विस्तारका लागि पहल गरिरहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा थप लगानीको पहल गरिदिन आग्रह गरे । उनले सरकारले जलविद्युतको लागि भारत र बंगलादेशमा बजारको पहल भइरहेको बताए ।

‘नेपालको जलविद्युत् क्षेत्रमा नयाँ सम्भावना छ, लगानी र बजार विस्तारका लागि हामी पहल गरिरहेका छौं, भारत र बंगलादेशसँग समेत यसबारेमा छलफल भइरहेको छ,’ ऊर्जामन्त्री पुनले भने, ‘त्यसमा चिनियाँ लगानीकर्ताको सकारात्मक सहयोग आवश्यक छ ।’

चिनियाँ लगानीकर्ता र निर्माण कम्पनीले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडिको कारणबारे पनि जिज्ञासा राखेका थिए ।

जवाफमा राजदूत यान्छीले चिनियाँ कम्पनीले भोगेका समस्याका बारेमा जानकारी गराउँदै त्यसबारेमा आफूले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताइन् ।

‘चीन र अन्य विश्वमा राम्रो काम गरिहेका छन् । हाम्रोमा किन गर्न सकिरहेका छैनन् । समस्या के हो जसका कारण काममा ढिलाइ भइरहेको छ, हामी पनि यसमा छलफल गरिरहेका छौं, हाम्रो कारणले हो भने हामी हाम्रो प्रणाली सुधार गर्छौं,’ उनले भने । मन्त्री पुनले दूधकोशी जलविद्युत् आयोजनामा विश्व बैंकले ५०० मिलियन अमेरिकी लगानी गर्ने तयारी गरेको गरिरहेको भन्दै उक्त आयोजना सम्पन्न गर्नका लागि केही रकम अपुग भएकोले चिनियाँ सहयोगको अपेक्षा गरे ।

भेटमा राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्न पहल गरिरहेको जानकारी दिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवालयले जनाएको छ ।

उनले नेपालको जलविद्युत् क्षेत्रमा १४ चिनियाँ कम्पनीले २४ वटा आयोजना रहेको जानकारीसमेत दिइन् । चिनियाँ कम्पनीले निर्माण गरिरहेका परियोजनामा प्रवेशाज्ञा, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहणलगायतका समस्या भोगिरहेको राजदूतको भनाइ थियो ।

भेटमा राजदूत यान्छीले नेपालमा हाल स्थिर सरकार रहेको र अरू चार वर्ष सरकारसँग समय रहेको भन्दै यो अवधिमा नेपालले बढीभन्दा बढी उपलब्धी हासिल गर्छ भन्नेमा आफू आशावादी रहेको उल्लेख गरिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: