साविक विजेता क्यामेरुनको विजयी सुरुवात « Nagarik Khabar

साविक विजेता क्यामेरुनको विजयी सुरुवात



काइरो । साविक विजेता क्यामेरुनले अफ्रिकन कप अफ नेसन्स फुटबलल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । गुइनिया बिसउलाई २–० गोलले पराजित गर्दै क्यामेरुनले आफ्नो उपाधि रक्षाको अभियान सुखद् सुरुवात गरेको हो ।

टोलीलाई खेलको ६६ औं मिनेटमा रक्षक याया बनानाले गोल गर्दै १–० ले अघि राखेका थिए । कर्नरमार्फत आएको बललाई बनानाले हेडिङ गोल गरेका थिए ।

त्यसपछि ६९ औं मिनेटमा स्टेफन बाहोकेनले गोल गरेपछि क्यामेरुनको जित २–० ले निश्चित भएको थियो । बाहोकेनले मैदानमा प्रवेश गरेको तीन मिनेटपछि नै गोल गरेका थिए । यो जितसँगै क्यामेरुन समूह एफको शीर्ष स्थानमा उक्लिएको छ ।

समूह एफअन्तर्गतको अर्काे खेलमा बलियो टोली घाना भने अण्डरडग टोली बेनिनसँग २–२ गोलको बराबरीमा रोकिएको छ । खेलमा घाना १–० ले पछि परेको अवस्थाबाट फर्किएर बराबरी खेलेको हो ।

घानाका लागि अयू दाजुभाई एन्द्रे र जोर्डनले गोल गरेका हुन् । रक्षक जान बोयेले दोहोरो पहेँलो कार्डमा मैदान छाड्दा घाना १० जनामा सिमित भएको थियो । त्यसकै फाइदा उठाउदै बनिनले २–२ गोलको बराबरी गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: