काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागू औषध दुरुपयोग तथा ओसार पसार नेपालका लागि पनि चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । लागूऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्र्दभमा बुधबार काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोध गर्दै मन्त्री थापाले विश्वव्यापी समस्याको रुपमा रहेको लागू औषध दुरुपयोगको समस्या नेपालका लागि पनि चुनौतीपूर्ण रहेको बताए ।
लागू औषध समस्या र अन्तरनिहित चुनौतीको तुलनामा सरकारका प्रयासहरु पर्याप्त नहुनु र खुल्ला सीमाका कारण यसको प्रयोग र ओसारपसार नियन्त्रणमा लक्षित उपलब्धी हासिल नभएको उनको भनाई छ ।
गृहमन्त्री थापाले भने,“लागू औषध समस्या र अन्तरनिहित चुनौतिको तुलनामा हाम्रा प्रयासहरु पर्याप्त छैनन् । नेपालको भौगोलिक परिस्थिति, खुल्ला सिमानाका कारण पनि लागू औषध दुरुपयोग र ओसारपसारको समस्या चुनौतिपुर्ण रहि आएको छ । ”
सरकारले कानुन कार्यान्वयन गर्ने सुरक्षा निकाय र संस्थागत निकायको क्षमता अपेक्षित रुपमा विकास गर्न नसकेको, अपराधको निगरानी, सूचना प्रणाली, अनुसन्धान र अभियोजनलाई बैज्ञानिक र स्रोत साधन सम्पन्न पार्न नसकेको उनले स्वीकार गरे ।
लागूऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्र्तराष्ट्रिय दिवस नेपालमा विविध कार्यक्रम गरि साताव्यापी रुपमा मनाईएको छ । साताको अन्तिम दिन बुधबार गृहमन्त्रालय अन्र्तगतको मुल आयोजक समितिले विशेष कार्यक्रम गरेको हो । यस बर्ष नेपालमा “समृद्ध राष्ट्र निर्माणका लागि लागू औषधरहित स्वस्थ जीवन” भन्ने नाराका साथ यो दिवस मनाईएको हो ।