साढे २ करोड लगानीमा लाप्चे गुम्बा निर्माण हुँदै « Nagarik Khabar

साढे २ करोड लगानीमा लाप्चे गुम्बा निर्माण हुँदै



चरिकोट । बौद्ध धर्मको ऐतिहासिक गुम्बाको रुपमा रहेको ‘लाप्चे गुम्बा’को पुनः निर्माण तीव्र गतिमा भइरहेको छ । भूकम्पले पूर्ण रुपमा क्षति पुगेको भिमेश्वर नगरपालिका-८, दोलखा, बोच चनौटे डाँडास्थित उक्त गुम्बाको पुनःनिर्माण कार्य भइरहेको छ ।

आर्थिक अभावका कारण लामो समयसम्म पुनःनिर्माण नभएको गुम्बाको खेम्पो सोनाम छिरिङ लामाले निजी लगानी र स्थानीयको दानबाट गुम्बा पुनः निर्माण भइरहेको हो । ‘बौद्ध धर्मको यो ऐतिहासिक गुम्बा हो । विगतदेखि यो गुम्बा ओझेलमा भएकाले प्रचार हुन सकेको थिएन । गुम्बा भूकम्पले पूर्ण रुपमा क्षति भएको थियो,‘ उनले भने, ‘अहिले स्थानीयको सहकार्यमा निर्माण भइरहेको छ । गुम्बाको नक्सा विगतभन्दा फरक भएका कारण साढे २ करोड लगानी लाग्नेछ ।’

उनका अनुसार २०७३ बाट निर्माण शुरु गरे पनि आर्थिक अभावका कारण गुम्बा निर्माण गर्न सकेको थिएन । अहिले विभिन्न निकाय र दातृ संस्थासँग सहयोग मागेर निर्माण थालेको खेम्पोको भनाइ छ ।

पाँच रोपनी क्षेत्रफलभित्र गुम्बा निर्माण भइरहेको छ । गुम्बा साढे दुई तलाको हुने गुम्बा व्यवस्था समितिको अध्यक्ष फौदसिं तामाङले जानकारी दिए ।

गुम्बाको पुनः निर्माणलाई पारदर्शी बनाउनका गुम्बा निर्माण समिति गठन गरिएको छ । समितिका अध्यक्ष रामबहादुर तामाङले आर्थिक व्यवस्थापन भयो भने दुई वर्षभित्र पुनःनिर्माण सकिने बताए । प्राचीन गुम्बाकै रुपमा रहेको उक्त गुम्बा कानूनी रुपमा भने २०५१ चैत ८ गते दर्ता भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: