तीन सय विद्युतीय बस खरीद प्रकृया अघि बढ्यो « Nagarik Khabar

तीन सय विद्युतीय बस खरीद प्रकृया अघि बढ्यो



काठमाडौं । सन् २०२० सम्म देशभर २० प्रतिशत विद्युतीय सवारीसाधन पुर्याउने सरकारको लक्ष्य अनुसार तीन सय विद्युतीय बस खरीद प्रकृया अगाडि बढाएको छ ।

विद्युतीय बस खरीद र सञ्चालनका लागि प्राविधिक अध्ययन लगायतका काम अघि बढेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

बस कुन प्रक्रियाबाट खरीद गर्ने र कसरी सञ्चालन गर्ने भन्ने विषयमा आवश्यक छलफल भइरहेको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिए ।  

बस खरीद गर्दा एक सरकारबाट अर्का सरकार (जी टू जी) प्रक्रियाबाट वा सोझै कुनै पनि कम्पनीलाई ठेक्कामार्फत दिने भन्ने विषय टुङ्गो लाग्न बाँकी रहेको प्रवक्ता ज्ञवालीको भनाई छ । उनका अनुसार सरकारले सार्वजनिक खरीद ऐनअनुसार नै खरीद गर्ने वा आफैँ सोझै कुनै देशसँग वार्ता गरेर खरीद गर्ने भन्ने केही समयभित्र निर्णय हुनेछ ।

‘अहिले मन्त्रालयले सम्बन्धित सबैसँग छलफल गरिरहेकाले एक–दुई हप्ताभित्रै टुङ्गो लगाइनेछ’ प्रवक्ता ज्ञवालीले भने ।

विद्युतीय बस खरीदका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरिसकेको छ । अपुग भए थप बजेट निकासा गर्न सकिने उनले बताए। 

नेपाल सरकारसँगै विद्युतीय बस खरीद र सञ्चालनमा प्रदेश सरकारले समेत चासो देखाएका छन् । प्रदेश नं ३ सरकारले आगामी आवमा विद्युतीय बस खरीद गर्नका लागि ३० करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: