सामाजिक अभियानका लागि ‘भेडी गोठाले’ जापानमा प्रदर्शन हुँदै « Nagarik Khabar

सामाजिक अभियानका लागि ‘भेडी गोठाले’ जापानमा प्रदर्शन हुँदै



जापान । गुरुङ संस्कार संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘भेडी गोठाले’ (क्यु प्ह्रो छे) को आउँदो २१ जुलाई २०१९ मा जापानमा विशेष च्यारेटी ‘शो’ हुने भएको छ ।

नेपालमा गुरुङ भाषाको लाइब्रेरी स्थापना सहयोगको लागि तमुधिं जापानको आयोजना र जापान मनी एक्सचेञ्जको सहयोगमा चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

जापानको टोकियो रोधीघर, सिन्कुवोमा दिनको १२ बजे च्यारेटी शो हुने भएको छ । यसअघि विश्वका छ मुलुकमा फिल्म भेडी गोठालेले ब्लक बस्टर शो गरिसकेको छ । युएई, कतार, नेदरल्याण्ड, युके, अमेरिकाका पाँच वटा सिटी, पोखरा, काठामाडौं र इन्डियामा फिल्मले च्यारिटी ‘शो’ गरिसकेको छ ।

फिल्म प्रदर्शनबाट उठेको रकम नितान्त समाज सेवामा खर्च गरेको फिल्मका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’ले जानकारी दिए । उनका अनुसार ‘तमु प्ये ल्हु संघ, लमजुङ’ले लमजुङमा गरेको पहिलो शोबाट उठेको सबै रकम लमजुङकै ‘क्वोई बो धिं’ (तमुहरुको धार्मिक पवित्तत्र स्थल) तथा सांस्कृतिक संरचना भवन निर्माणको लागि सहयोग गरिएको थियो ।

यस्तै, हङकङमा गरिएको दोस्रो शोबाट उठेको रकम १० लाख रुपैयाँ लामो समयदेखि समाज सेवामा जुट्दै आएको ‘मिलन फाउन्डेसन नेपाल’लाई सहयोग हुने गरी मिलन ट्रष्टमा अक्षयकोषमा राखिएको थियो ।

युएई र कतारमा प्रदर्शनबाट उठेको रकम पनि सत प्रतिशत लमजुङस्थित क्वोइ बो धिं निर्माण समितिलाई हस्तान्तरण गरिएको थियो ।

मखमली आमा समूह दोर्दी लमजुङको आयोजनामा काठमाडौं र पोखरामा गरिएको शोबाट उठेको रकम ‘मखमली आमा समूह’को भवन निर्माणका लागि हस्तान्तरण गरिएको थियो ।

अमेरिकाको पाँचवटै सिटीमा गरिएको शोबाट उठेको रकम अमेरिकाबासी नेपालीहरुले सञ्चालन गरेको संस्थालाई सहयोग गरिएको थियो । यस्तै, बेगनास ताल तमु समूहले पोखरामा गरेको शोबाट उठेको रकम बेगनास तालको ‘तमु समाज’को सहयोगका लागि हस्तान्तरण गरिएको थियो ।

फेदींखोला युवा क्लबले स्याङ्जामा गरेको शोबाट उठेको रकम युवाहरुको उत्थानका लागि सहयोग गरिएको थियो । यस्तै, युकेमा गरिएको शोबाट उठेको रकम १५ सय पाउण्ड र फिल्मका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’को ५ सय पाउण्ड थप गरी २ हजार पाउण्ड तमु प्ये ल्हु संघ युकेको क्वोइ बो धिँ खरिद गर्नका लागि सहयोग गरिएको थियो ।

गोर्खाली रेडियो पोखरा र सोपाल तमु समाज कास्कीको संयुक्त आयोजनामा पोखरामा गरिएको दोस्रो शोबाट उठेको रकम द्वन्द पीडित आमा लिला गुरुङलाई सहयोग गरिएको थियो ।

यस्तै, अन्य शोबाट उठेको रकम पनि सामाजिक सेवामा कार्यरत संघसस्थाको सहयोगका लागि खर्च गरिएको थियो ।

फिल्मले आदिवासी जनजाति फिल्म फेस्टिवलको तर्फबाट ‘वेष्ट पब्लिक च्वाइस’ र ‘वेष्ट एक्टर’को अवार्ड समेत हात पारेको छ ।

विक्रम गुरुङ ‘हङकङ’ देउकी सिंजाली दीपिका मिलन, विजय गुरुङ मिलन हङकङ, देउकुमारी गुरुङ हङकङको संयुक्त लगानीमा फिल्मको निर्माण भएको हो भने फिल्मको कथा तथा निर्देशन गणेश गुरुङ ‘सुवास’को रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: