किसानको पीडा : पानी आयो मल आएन « Nagarik Khabar

किसानको पीडा : पानी आयो मल आएन



दाङ । खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि तुलसीपुर– ४ का मानबहादुर केसी एक सातादेखि मल दिने सहकारी धाइरहेका छन् । उनी जस्तै धेरैजसो किसानको अवस्था यस्तै छ ।

वनहरिका टेकराज रिजाल पनि मलका लागि एक सातादेखि दिनहुँजसो मल गोदाममा धाइरहेका छन् । तर गोदामसँग पनि मल कहिले आउने भन्ने प्रश्नको जवाफ छैन । अनुदानको मात्र होइन, बिना अनुदानको मल पनि बजारमा किन्न पाइदैन ।

कृषिको आधुनिकरण र यान्त्रिकरण गरी निर्यातमुखी उत्पादन वृद्धिमा जोड दिइए पनि किसानलाई मल उपलब्ध गराउन सम्बद्ध निकायको चासो पुग्न नसकेको किसानको गुनासो छ । असार पन्ध्रलाई सरकारले राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै आएको छ । तर यो वर्ष मलको अभावले धान दिवसको अवसरमा खेती गर्न समस्या भएको छ ।

विगतजस्तै यसवर्ष पनि मुख्य बाली धानखेती सुरु हुन लाग्दा मलको अभाव देखिएको छ । लामो समयको खडेरीपछि पानी परेको पानीले खेती हुने आशामा बसेका किसानलाई रासायनिक मलको अभावले खिन्न बनाएको छ ।

‘पानी आयो, मल आएन भएको मल पनि सकिएको रहेछ,’ स्थानीय किसान करवीर वलीले भने ।

जिल्लामा पछिल्लो केही समयदेखि डिएपी मलको चरम अभाव रहेको छ । अनुदान विनाको युरिया मल बजारमा पाए पनि डिएपी भने नभएको किसान बताउँछन् । ‘मल लिन कृषि सामाग्री कम्पनी लि. कार्यालय पुगेको थिएँ, तर कृषिमा एक बोरा पनि मल छैन त्यतिकै खाली हात घर फर्कनुपर्ने अवस्था आयो,’ अर्का किसान मोहन चौधरीले भने ।

अनुदानको मल बिक्री गदै आएको कृषि सामग्री कम्पनी लिमिटेडले पनि डिएपी मल केही महीनादेखि नआएको जनाएको छ । पहिलो चरणमा मल सहकारीलाई उपलब्ध गराए पनि पछिल्लो समयमा एक बोरा पनि डिएपी मल गोदाममा नभएको कृषि सामग्री कम्पनी तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जानकारी दिए ।

‘मल खरीदका लागि कुनै पनि प्रक्रिया नै बढाइएको छैन, त्यसैले मल कहिले आउछ भन्न सकिने अवस्था नै छैन,’ प्रमुख न्यौपानेले भने । भैरहवामा पनि मल नभएको जानकारी दिँदै उनले सरकारले अझै पनि मलका लागि बोलपत्र आह्वान नगरेको बताए ।

सहकारीमार्फत किसानलाई मल उपलव्ध गराउँदै आए पनि हाल त्यहाँ पनि मलको अभाव छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: