- हुम तमु
पोखरा । पोखरेली तमु आमाहरुलाई कला म्बन्धी सकरात्मक सोंच विषयक विवेचना कार्यक्रम सम्पन्न गरिएको छ ।
तमु धिं नेपाल केन्द्रीय आमा समितिको मासिक कार्यक्रमअन्तर्गत बुधवार पोखराका तमु आमाहरुलाई आदिवासी जनजाति उत्कृष्ट चलचित्र निर्देशक जसु गुरुङले कला सम्बन्धी अभिमुखीकरण गरेकी हुन् ।
जेठ महिनाको अन्तिम साता काठमाडौंमा सम्पन्न तेश्रो आदिवासी जनजाति चलचित्र महोत्सवमा म्ले क्यु चलचित्रबाट उत्कृष्ठ निर्देशक घोषणा हुनुभएकी जसु गुरुङले विगतमा कला र कलाकारितालाई सम्मानित दृष्टिले हेर्न नसकेको हाम्रो समाजमा सकरात्मक परिवर्तन आइरहेको भन्दै खुशी व्यक्त गरे ।
उनले भने, म नाचेको मेरै परिवारले निको मान्ने अवस्था थिएन, अहिले कलाको महत्व बुझ्दै जाँदा परिवार त के समाजले नै सम्मान गर्ने अवस्था आएको छ ।
उनले भने, नाचगान र कलाकारितामा मात्र कला होइन, मनको कुरा खुलेर बोल्ने, लेख्ने, पढ्ने, घर व्यवस्थापन गर्ने, समुहमा रही सामूहिक हितका लागि काम गर्ने, नेतृत्व गर्ने पनि कला नै हो ।
स्टार्स स्टुडियोकी सञ्चालक समिति रहेकी तमु चलचित्रकी प्रथम महिला निर्देशक जसु गुरुङले उत्कृष्ठ निर्देशकको सम्मान आफ्ना गुरु स्वर्गीय क्याप्टेन मिनबहादुर गुरुङ (डाँफे बाजे)को श्रेय भएको बताए । यो अवार्ड गुरुङले चलचित्रले प्राप्त गरेको, तमुहरुको जितेको हो भन्दै आफु त केवल पात्र मात्रै भएको बताए । । उक्त कार्यक्रममा उत्कृष्ठ निर्देशक अवार्ड प्राप्त जसु गुरुङलाई तमु धिं नेपाल केन्द्रीय आमा समितिले सम्मान समेत गरेको थियो ।
कार्यक्रममा तमु धिं नेपालका उपाध्यक्ष तथा आमा समितिका जेठो छोरोको सम्मान पाएका हुमबहादुर गुरुङले कला र कलाकारीता सिर्जनशीलता, सम्मानित क्षेत्र र तमुहरुको मौलिकता संरक्षण गर्ने पाटो भएको समेत बताए । उनले कला लगायत विभिन्न क्षेत्रमा उपलब्धी हासिल गर्दै अघि बढेका निर्देशक जसु गुरुङ लगायत सम्पुर्ण तमुहरुलाई आमाको आर्शिवाद र साथको जरुरत भएको बताए ।
तमु धिं नेपाल केन्द्रीय आमा समितिकी अध्यक्ष हरिमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन समितिकी सल्लाहकार समाजसेवी रसकुमारी गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गरेको थियो भने महासचिव ऐनशोभा गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
यसैबीच तमु धिं नेपाल केन्द्रीय आमा समितिको कार्यसमिति रिक्त रहेको सदस्य पदमा तनहुँ तमु समाज पोखराकी आमा अध्यक्ष सत्यदेवी गुरुङलाई मनोनयन गरिएको महासचिव ऐनशोभा गुरुङले जानकारी दिए ।