रक्सी सेवन गर्नेलाई लामखुट्टेले धेरै टोक्नुको कारण के होला ? (बच्ने उपायसहित) « Nagarik Khabar

रक्सी सेवन गर्नेलाई लामखुट्टेले धेरै टोक्नुको कारण के होला ? (बच्ने उपायसहित)



काठमाडौं । नेपालमा युवा उमेर समूहका झण्डै ६० प्रतिशतले मदिराको सेवन गर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ । त्यसमा ८० प्रतिशत पुरुषले मदिराको सेवन गर्छन् ।

रक्सी सेवन गर्ने व्यक्तिलाई लामखुट्टेले धेरै टोक्ने गरेको छ । अमेरिकी जर्नल अफ मस्क्वीटो कन्ट्रोल एशोसियसनको एक प्रतिवेदन अनुसार रक्सी सेवन गर्ने व्यक्तिलाई सेवन नगर्ने व्यक्तिको तुलनामा लामखुट्टेले धेरै टोक्ने गरेको छ ।

किन टोक्छ धेरै ?

वैज्ञानिकहरुले लामखुट्टेले रक्सी सेवन गर्ने व्यक्तिलाई धेरै टोक्ने गरेको पत्ता लगाए पनि अहिले किन टोक्छ भन्ने विषयमा अध्ययन अनुसन्धान गरिरहेका छन् । तर कसरी पहिचान गर्छन् भन्ने कुराको भने निष्कर्ष निकालिएको छ ।

लामखुट्टेले मानिसको पहिचान देखेर भन्दा पनि अन्य पक्षले धेरै गर्छ । कार्बनडाइअक्साइड र अक्टानोलको कारणले लामखुट्टेले हामीलाई सजिलै भेट्टाउछ ।

आर्बनडाइअक्साइड हामीले स्वास फेर्ने बेलामा फाल्छौँ । अक्टानोल च्याउको स्वाद जस्तै हुन्छ । जुन अल्कोहल अर्थात रक्सी सेवन गर्दा हाम्रो शरीरमा बन्छ ।

त्यसैले सामान्य व्यक्तिको पहिचान लामखुट्टेले कार्बनडाइअक्साइडबाट गर्छ भने रक्सी सेवन गर्ने व्यक्तिको पहिचान थप एक अक्टानोलको सहायताले पनि गर्छ । यही कारणले गर्दा रक्सी सेवन गर्ने व्यक्तिलाई लामखुट्टेले धेरै टोक्ने गरेको छ ।

रक्सीबाट निस्किने एथेनोलले पनि यसैगरी लामखुट्टेलाई मानिसतर्फ आकर्षित गर्दछ । जब हामी रक्सी पिउँछौं, हाम्रो पसिनासँगै थोरै मात्रामा एथेनोल पनि निस्किन्छ । लामखुट्टे यसको गन्धबाट मानिसहरुसम्म पुग्छ ।

लामखुट्टेलाई नशा लाग्छ ?

वैज्ञानिकहरुको अनुसन्धानमा कुनै माध्यमबाट रक्सी सेवन भएका किरा फट्याङ्ग्रामा रक्सीको नशा लाग्दैन । लामखुट्टेले पनि रक्सीको नशा सजिलै पचाउने गरेको छ ।

वैज्ञानिक तान्या डेप्कीले रगतमा अल्कोहलको मात्रा नशा लाग्ने जति नहुँने भएकाले लामखुट्टेलाई नशा नलाग्ने बताएकी छन् । यो विषयमा थप अध्ययन आवश्यक रहेकोमा उनले जोड दिएकी छन् ।

विभिन्न अध्ययन अनुसार भने किरा फट्याङ्ग्रामा रक्सीको नशा सजिलै पचाउन सकने क्षमता हुन्छ । त्यसैले सजिलैसँग भन्न सकिन्छ लामखुट्टेलाई नशा लाग्दैन ।

अमेरिकाको नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीका वैज्ञानिक कोबी स्केलले १० प्याग रक्सी गर्यो भने उसको रगतमा अल्कोहलको मात्रा ०।२ प्रतिशत मात्र पुग्ने गरेको बताउँछन् । लामखुट्टेले त्यो व्यक्तिको रगत पियो भने उसमा रक्सीको निकै कम असर पुग्छ ।

लामखुट्टेको पाचन शक्ति पनि बलियो हुन्छ । रगत बाहेक अरु कुनै चिज उनीहरुको पेटमा पुगेमा अलग्गै ठाउँमा जम्मा हुन्छ । त्यहाँ इन्जाइमहरुले पचाइदिन्छन् । यस्तो क्षमता अधिकांस किराफट्याङ्ग्रामा हुन्छ । रक्सीदेखि हानीकारक ब्याक्टेरियासम्म ससाना धेरै किराले पचाइदिन्छन् ।

लामखुट्टेले पनि झिंगाले जस्तै सडेगलेका फल चुस्न मन पराउँछन् । पोथी लामखुट्टेले मात्र रगत चुस्छन् । किनभने अन्डा पार्नलाई चाहिने प्रोटिन उनीहरुले रगतबाट पाउँछन् । यसैगरी शक्ति प्राप्त गर्न भालेपोथी दुवैले फल र फूल चुस्छन् ।

मानिसको जीनको कारण पनि आकर्षित

मानिसको जीनको कारण पनि लामखुट्टे आकर्षिक हुन्छन् । विश्वको जनसंख्याको पाचौं हिस्साको जीनमा यस्तो चिज हुन्छ, जसबाट लामखुट्टे मानिसहरुप्रति आकर्षित हुन्छन् ।

लामखुट्टे सबैभन्दा धेरै ब्लड ग्रुप ओसँग नजिक हुन्छन् । अन्यको तुलनामा ओ गु्रपका व्यक्तिलाई धेरै टोक्ने हुन्छ । त्यस्तै शरीरको तापक्रम बढी भएका कारण पनि लामखुट्टे मानिसहरुप्रति आकर्षित हुन्छन् ।

गर्भवती महिलालाई पनि लामखुट्टेले बढी टोक्छन् । जुन व्यक्तिले गहिरो स्वास छाड्छ त्यसलाई पनि लामखुट्टेले बढी टोक्छ ।

लामखुट्टेका अलग अलग प्रजातिले शरीरको अलग अलग हिस्सामा टोक्छन् । कुनैले खुट्टामा, कुनैले पन्जामा, कुनैले गर्धनमा टोक्छन् । कुनैले चाहिँ अनुहारमा पनि टोक्छन् । शायद उनीहरुले मानिसको नाक र मुखबाट निस्कने कार्बनडाइअक्साइड सुँघ्दै त्यहाँ पुगेका हुनसक्छन् ।

लामखुट्टेको टोकाइबाट कसरी बच्ने ?

गर्मी मौसममा लामखुट्टेको संख्या बढ्छ । लामखुट्टेको टोकाईले निरन्तर चिलाउने समस्या मात्र होइन यसले मलेरिया, इन्सेफलाइटिस र डेंगु जस्ता महामारी रोगहरु फैलाउने गर्छ । रातमा लामखुट्टेको देख्ने र सुघ्ने क्षमतामा अत्यधिक वृद्धि हुन्छ । त्यसैले विभिन्न उपाय अवलम्वन गर्न आवश्यक छ ।

लामखुट्टे पानी जम्ने खाल्डाखुल्डी भए बढी मात्रामा फैलिन्छ। यस्तोमा लामखुट्टेले अण्डा पर्ने र बच्चा हुर्काउने भएका कारण यस्ता खाल्डाखुल्डीहरु पुर्नुपर्छ। सयपत्री, तुलसी, पुदिना, लेमन ग्रास, लसुन, ब्रम्हबुटीलगायतका बिरुवाले प्राकृतिक रुपमा लामखुट्टे भगाउने गर्छन् । घर वरिपरी यस्ता बिरुवा रोप्नु पर्छ ।

लामखुट्टे फोहोरमा बढी फैलने हुँदा सकेसम्म आफ्नो घरआँगन सफा राख्ने। त्यस्तै कुनाकाप्चा तथा र अँध्यारो ठाउँमा लामखुट्टे बस्ने हुनाले यस्तो ठाउँ सफा र खुला राख्नु पर्छ। त्यस्तै लामखुट्टेको टोकाईबाट बच्न भटामास, तोरी, नीम आदिको तेल शरीरको खुल्ला भागमा लगाउनाले र लसुनको खानाले पनि सहयोग पुर्‍याउँछ ।

अन्य विकल्पमा झुल लगाउने, हलुका रंगका पुरा बाहुला भएका कपडाहरु लगाउने, साँझमा झ्याल ढोका लगाउने र अन्य धुपको प्रयोग तथा औषधिको प्रयोग गर्न सकिन्छ ।

लामखुट्टेबारे रोचक जानकारी

  • हामी सबैलाई जानकारी नहुँन सक्छ, हामीलाई पोथी लामखुट्टेले मात्र टोक्ने गर्दछन् । भाले लामखुट्टे शाकाहारी हुन्छन् र बोट बिरुवाको रस चुसेर बाँचिरहेका हुन्छन् ।
  • महिलाको तुलनामा पुरुष र बच्चाको तुलनामा वयस्कलाई लामखुट्टेले धेरै टोक्ने गर्छन् ।
  • धेरै पसिनाले लामखुट्टलाई आकर्षित गर्दछ । एउटा लामखुट्टेलाई आवश्यक पर्ने सबैकुरा यसमा पाइन्छन् ।
  • लामखुट्टे शरिरको तापक्रम मार्फत पनि आफ्नो शिकारको खोजी गर्दछ ।
  • कालो, निलो, रातो जस्तो गाढा रङको कपडामा लामखुट्टे आकर्षित हुन्छ ।
  • बास्नाले पनि लामखुट्टेलाई आकर्षित गर्दछ । यदि तपाईंले परफ्युम र डियो लगाउनुभएको छ भने तपाईंलाई लामखुट्टेले टोक्ने सम्भावना धेरै हुन्छ ।
  • मोटो मान्छेहरुले धेरै तापक्रम र कार्बनडाइअक्साइड पैदा गर्ने गर्दछन् । उनीहरुको बडी मास धेरै हुन्छ यसकारण उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ ।
  • लामखुट्टेले शरीरको गन्धमार्फत पनि मानिस भएको ठाउँ थाहा पाउँछ । जति कडा गन्ध हुन्छ लामखुट्टेले टोक्ने सम्भावना त्यति धेरै हुन्छ ।

एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: