दक्षिणकाली पुग्ने सडकको दुरावस्थाः सर्वसाधारणलाई सास्ती (भिडियोसहित) « Nagarik Khabar

दक्षिणकाली पुग्ने सडकको दुरावस्थाः सर्वसाधारणलाई सास्ती (भिडियोसहित)



काठमाडौं । राजधानीनकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो, ‘दक्षिणकाली मन्दिर’। काठमाडौंबाट १७ किलोमिटर मात्रै टाढा पर्छ । सवारी साधानमा करीव एक घण्टामा पुग्न सकिन्छ ।

तर, पछिल्लो समय सडकको दुरावस्थाका कारण समयमा पुग्न सकिने अवस्था छैन । सडकमा जताततै स–साना मात्रै नभएर ठूल–ठूला खाल्डोहरु भएका छन् । सडकमा खाल्डो भएका कारण सवारी साधन चलाउन सहज नभएको ट्याक्सी चालक राजेन्द्र श्रेष्ठ बताउँछन् ।

‘काठमाडौबाट आउन धेरै टाढा छैन । तर बाटो हेर्यो भने चिन्ता लाग्छ । जतातै खाल्डा खुल्डिमात्रै छ, ’उनले नागरिकखबरसँग भने, ‘रिर्जव आयो उल्टै ट्याक्सी मर्मत गर्नुपर्ने अवस्था हुन्छ । सडक छिटो बनिदिए हुन्थ्यो ।’

यस्तै, यही रुटमा दैनिक रुपमा सवारी चलाउँदै आएका मनोज तामाङले लामो समयदेखि दक्षिणकाली आउने सडक बिग्रिए पनि सम्बन्धित निकायले ध्यान दिन नसकेको बताउँछन् ।

‘कहिले छेउमा, कहिले भित्ता च्यापेर गाडी गुडाउनुपर्ने अवस्था छ । जता ततै खाल्डो छ । अनि कसरी गाडी कुदाउनु ?’ उनले भने ।
खाल्डोकै कारण दुईपाङग्रे सवारी साधन दुर्घटनामा पर्ने गरेको उनको भनाइ छ ।

सडक चौडा बनाउने नाममा लामो समयदेखि स्थानीयले सास्ती खप्दै आएको रमेश श्रेष्ठ बताउँछन् । ‘बर्खामा हिलोको समस्या छ । अब फेरी धुलो उड्ने बेला आइसक्यो,’ उनले भने, ‘यो सडककै कारण हामी समस्यामा परेका छौं ।’

विशेषत चोभारदेखि दक्षिणकालिसम्मकै सडकको विजोग छ । हुन त देशभरीकै सडकको गुणस्तरीयतामाथि प्रश्न उठ्ने गरेका छन् । केही त कालोपत्रे गरेको ६ महिना नहुँदै उप्कने र खाल्डो हुने तितो यथार्थ छ । तर, राजधानीकै धार्मिक पर्यटकीय गन्तव्यमा जाने बाटो सहज नहुनु दुःर्भाग्य जतिकै भएको छ ।

दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले भने यस विषयमा स्थानीय सरकारले आवश्यक पहल गरीरहेको जानकारी दिए ।
‘यो सडक दक्षिणकालीसम्मको मात्रै होइन । तीन नम्बर प्रदेशको राजधानी हेटौडासम्मको इज्जत हो, ’नगर प्रमुख बस्नेतले भने,‘ तर, विभिन्न कारणले छिटो निर्माण हुन सकेन । यसका लागि नगरपालिकाले सडक विभाग र गौरी पार्वती निर्माण कम्पनीबीच छलफल गरेर दशैअघि फर्पिङ बसपार्कसम्म कालोपत्रे गर्ने सहमति गराएका छौं ।’

नगरपालिकाले चाहेर पनि राष्ट्रिय योजनाको सडक निर्माण गर्न नसकेको नगर प्रमुखको भनाइ छ । उनका अनुसार नगरपालिकाले सडक छिटो निर्माणका लागि आवश्यक पहल गरीरहेका छन् ।

उक्त सडक–खण्ड कालोपत्रे गर्नका लागि नगरपालिकाले आवश्यक सामाग्रीको व्यवस्था गर्नुपर्ने समझादारी भएको नगरपालिकाले जनाएको छ । यसपछि दशैअघि नै सडक विभाग र निर्माण कम्पनीले कालोपत्रे गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: