सरकारलाई पूर्वराष्ट्रपति यादवको सुझाव : संविधानको मर्मलाई आत्मसात गरेका काम गर्नुस् « Nagarik Khabar

सरकारलाई पूर्वराष्ट्रपति यादवको सुझाव : संविधानको मर्मलाई आत्मसात गरेका काम गर्नुस्



काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधान, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समावेशी समानुपातिक सिद्धान्तको मर्म र भावनालाई पूर्णरुपमा आत्मसात गरेर काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिएका छन् ।

समाजवादी जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंहको कृति ‘संविधान निर्माण घटना र अनुभूति’ को शनिबार काठमाडांैमा विमोचन गर्दै उनले भने, ‘२०६२/६३ सालको मात्र नभई नेपाली जनताको ७० वर्षको बलिदान र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु हामी सबै नेपालीको धर्म हो ।’

पूर्वराष्ट्रपति यादवले भने, ‘कतिपय शक्तिले संविधानसभा नै भङ्ग गर्न खोजिरहेको निकै अप्ठ्यारो समयमा कतिपय जातजाति र समुदायले उठाएका मुद्दा नसमेटिए पनि सबैको भावनालाई संविधानले आत्मसात गरेको छ, त्यसैले यो उपलब्धिको रक्षा गर्न राजनीतिक दलले निकै सोच विचार पु¥याएर काम गर्नुपर्छ ।’

संवैधानिक निकाय र न्यायालयमा सही मान्छेको छनौट भएको छ कि भागबण्डामा भनी प्रश्न गर्दै उनले सरकार र राजनीतिक दललाई अविश्वासको वातावरण अन्त्य गरी जनताको कुरा सुनेर काम गर्न आग्रह गरे ।

तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले नेपालको संविधान सबै राजनीतिक दलबीचको सहमति र सम्झौताको दस्तावेजका रुपमा रहेकाले सबैले उठाएका मुद्दा र विषय समेटिएको बताए ।

उनले भने, ‘संविधानमा परेका सबै विषयवस्तु निकै सोच र विचार गरेर राखिएको हुनाले संविधानमा कुनै त्रुटि र खराबी छैन, कसरी कार्यान्वयन गरेर अघि बढने सन्दर्भमा राजनीतिक दलका पदाधिकारीको क्षमता, वुद्धि र विवेकमा भर पर्दछ ।’

पुस्तका श्रष्टा सिंहले नेपाली जनताको ठूलो बलिदानबाट गठन भएको संविधानसभाबाट युगान्तकारी घटनाको रुपमा भएको संविधान निर्माण र जारी हुँदाका बखतका घटना र अनुभूतिलाई समेटिएको पुस्तकले भावी पुस्तालाई नेपालको संवैधानिक इतिहास बुझ्नमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

संविधान निर्माण र कार्यान्वयनसम्बन्धी ऐतिहासिक घटनाक्रमलाई लिपिबद्ध गरिएको उक्त पुस्तकमा संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, संसदीय दलका नेता, संसदीय समितिका सभापति, संविधान निर्माणको अविष्मरणीय घटना र स्मरणीय व्यक्तित्वको भूमिका र विश्लेषणलगायतका विषयवस्तु समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: