महासंघको टोलीसँग रविले भने, ‘मलाई भौतिक रुपमा खतरा छैन’ « Nagarik Khabar

महासंघको टोलीसँग रविले भने, ‘मलाई भौतिक रुपमा खतरा छैन’



चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका चर्चित सञ्चारकर्मी रवि लामिछानेले आफूलाई भौतिक रुपमा खतरा नभएको बताएका छन् ।

श्रीमती निकिता पौडेलको फेसबुकमार्फत लामिछानेले आफूलाई प्रहरीबाटै खतरा रहेको बताएपछि नेपाल पत्रकार महासंघको टोली उनलाई भेट्न चितवन पुगेको थियो ।

महासंघको टोलीसँग लामिछानेले आफूलाई प्रहरीबाट भौतिक खतरा नभएको र आफ्नो कुरा अदालती वा अन्यपक्षबाट फसाउने काम हुन्छ कि भन्ने शंका रहेको बताएका थिए ।

महासंघका महासचिव रमेश विष्टले भने, ‘रविजीले भौतिक रुपमा प्रहरीबाट खतरा भन्न खोजेको होइन, अदालती प्रकृयाबाट फसाउने काम हुन्छ कि भन्ने आशंकाले भनेको हुँ भन्नु भयो ।’

लामिछाने र कँडेलले अनुसन्धानमा आफूहरुले सहयोग गरिरहेको पनि बताए । महासंघले लामिछानेसहित पत्रकार युवराज कंडेललाई अनुसन्धानमा सघाउन  आग्रह गरेको छ ।

महासंघले चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललाई पनि शनिवार भेटेर निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ ।

कानुनी प्रक्रिया र अनुसन्धानमा कुनै हस्तक्षेप नरहेको भन्दै महासचिव विष्टले सत्यतथ्य पनि सार्वजनिक हुनुपर्ने बताए ।

तर सञ्चारगृहमा प्रहरीको प्रवेशप्रति उनले आपत्ति जनाएका थिए ।

महासंघको टोलीसँग एसपी मल्लले कानुन अनुसार प्रक्रिया अघि बढेको बताए ।

लामिछाने, कँडेलसहित पक्राउ परेकी अस्मिता कार्कीलाई हिरासतमा राख्न अदालतले दुई पटक गरी थपेको १० दिनको म्याद सकिएपछि आइतबार पुनः अदालत लैजादै छ ।
महासंघको टोलीमा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलसमेत सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: