…अनि गर्छ मानिसले आत्महत्या, यसरी निरुत्साहित गरौं « Nagarik Khabar

…अनि गर्छ मानिसले आत्महत्या, यसरी निरुत्साहित गरौं



  • नारायणी रजौरे

दाङ । गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर उपमहानगरपालिका–९ मा र अर्को वडा नं १९ बिजौरीमा थियो । अनि अर्को घटना भएको थियो राजपुर गाउँपालिका–६ गङ्गदीमा ।

आत्महत्या गर्ने ती तीनले एकै किसिमको विष सेवन गरेको पत्ता लागेको थियो । सो जानकारी उनीहरुको शव परीक्षण रिपोर्टबाट खुलेको थियो । तुलसीपुर–९ मा ३७ वर्षीय मानबहादुर विक, बिजौरीकी ५० वर्षीया बमकुमारी विक र गङ्गदीकी थारू समुदायकी एक २१ वर्षीया युवतीले विष सेवन गरेर आत्महत्या गरेका थिए ।

उनीहरु तीनै जनाको उपचारका क्रममा मृत्यु भएको थियो । उनीहरुले दिउँसोको समयमा विष सेवन गरेको परिवारले जनाएका छन् । विष सेवन गरेको थाहा पाएपछि अस्पताल पुर्याइएको भए पनि उनीहरुलाई बचाउन नसकिएको चिकित्सकको भनाइ छ । तर, उनीहरुले किन विष सेवन गर्नुपरेको हो भन्ने बारेमा भने केही खुलेको छैन । प्रहरीले यस विषयमा गहन अध्ययन शुरु गरेको जनाएको छ तर कारण भने पत्ता लागिसकेको छैन ।

त्यसको तीन दिनपछि अर्थात् साउन २३ गते पनि तुलसीपुर उपमहानगरपालिका–१२ क्वाङीकी १२ वर्षीया चौधरी समुदायकी एक बालिकाले पनि विष सेवन गरेर आत्महत्या गरेको खबर आयो । उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइयो तर बचाउन सकिएन ।

यी तीन दिनभित्रका आत्महत्याका चार घटना उदाहरण मात्र हुन् । दाङ जिल्लामा प्रायः तीनदेखि चार दिनसम्ममा यस्ता दुर्घटनाको समाचार आउने गरेको छ, जुन अत्यन्तै दुःखद् छ । दाङमा गएको वर्ष दिनयता मात्र ९५७ आपराधिक घटना घटेका छन् । तीमध्ये सबैभन्दा बढी २०९ आत्महत्याका घटना रहेको दाङ प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

तीमध्ये १३२ झुण्डिएर, ७७ विष सेवन गरेर रहेका छन् । तीमध्ये १११ पुरुष, ९८ महिलाले आफैँले आफैँलाई हत्या गरेका छन् । यसमा बालबालिकाको सङ्ख्या १६ रहेको दाङ प्रहरी प्रमुख बेलबहादुर पाण्डेले उपलब्ध गराउनुभएको तथ्याङ्कमा उल्लेख छ । आत्महत्या गर्नेहरुमध्ये सबैभन्दा बढी जनजाति समुदायका ७४, दलित ५६, क्षेत्री ३७, ब्राम्हण ३०, मुस्लिम १२ रहेको पनि प्रहरीको सो तथ्याङ्कमा उल्लेख छ । आत्महत्या गर्नेमध्ये धेरैजसो विवाहितको सङ्ख्या देखिन्छ । तथ्याङ्कले १८९ विवाहित व्यक्तिले आत्महत्या गरेको देखाएको छ । त्यसैगरी २० अविवाहित छन् ।

कारण

आत्महत्या गर्नुको कारणमा सबैभन्दा धेरै गरीबीको कारण देखिएको प्रहरीले जनाएको छ । गएको वर्षको तथ्याङ्कमा ९७ ले गरीबीका कारण आत्महत्या गरेको अनुमान गरिएको छ । त्यसैगरी ४८ मानसिक असन्तुलन, १८ प्रेममा असफल, ११ घरेलु हिंसाका कारण रहेको सो तथ्याङ्कमा जनाइएको छ । पछिल्लो पाँच वर्षको अवधिमा जिल्लामा ८२९ को अकालमा मृत्यु भएको तथ्याङ्क दाङ प्रहरीले सार्वजनिक गरेको छ । सो तथ्याङ्कअनुसार दाङ जिल्लामा आत्महत्यासम्बन्धी विसं २०७२ साउनदेखि २०७६ असारसम्मको तथ्याङ्क हेर्दा ८२९ को अकालमै मृत्यु भएको देखिन्छ ।

यसरी ज्यान जानेमा ४९.५२ प्रतिशत पुरुष र ४६.९३ प्रतिशत महिला छन् । उक्त सङ्ख्यामा सबैभन्दा बढी झुन्डिएर ६३.०६ प्रतिशत आत्महत्याको सङ्ख्या छ । यसपछि विष सेवन गरेर आत्महत्या गर्ने ३६.१३ प्रतिशत सङ्ख्या छ । आफैँलाई आगो लगाएर, हााफालेर र आफैँलाई गोली हानेर आत्महत्या गरेका समेत घटना भएको पाइन्छ ।

हरेक वर्ष आत्महत्याका घटनाहरु बढनु ज्यादै नै दुःखदायी अवस्था हो भन्दै जिल्लामा बढ्दो आत्महत्याका घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी यहाँका नागरिकहरुले चासो र चिन्तासमेत व्यक्त गरेका छन् ।

व्यक्तिको उच्च महत्वकाङ्क्षा र विभिन्न कारणले तनाव हुने र त्यसपछि ‘डिप्रेसन’ भएका कारण पनि धेरैजसोले आत्महत्या गर्ने गरेको बताउँछन्, सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य निरा योगी । सबैको सामूहिक प्रयासले गाउँ तहसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर आत्महत्या गर्नु हुँदैन भन्ने खालका कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ ।

पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल जीवनलाई नबुझ्दा, प्रविधिको दुरुपयोग, चेतना अभाव, मानिसका उच्च महत्वकाङ्क्षाका कारण यस्ता घटनामा वृद्धि भएको र यी घटनालाई निरुत्साहित गरी समाजमा सकारात्मक सोचको विकास गर्ने कार्यक्रम आवश्यक रहेको विचार राख्छन् । दाङमा आत्महत्याका घटना बढेकामा चिन्ता व्यक्त गर्दै उन यसमा सञ्चारमाध्ययमले जनचेतनामूलक कार्यक्रम प्रकाशन प्रसारण गर्नुपर्ने सुझाव दिए ।

न्यूनीकरण

“आत्महत्या आफैंले आफैँलाई हत्या गर्नु हो, यसमा विभिन्न कारण छन् र त्यसमा पनि प्रमुख कारण ‘डिप्रेसन’ नै हो”, डा किशोर खत्रीले भने । उनी यस्ता व्यक्तिलाई समयमै उपचार र जीवनबारे बुझाउन सकिएमा आत्महत्याका घटनामा कमी आउने बताउँछन् ।

आत्महत्या न्यूनीकरण गर्न सचेतना कार्यक्रम विभिन्न विद्यालय, गाउँ–टोलमा लैजान सबैको सहयोग आवश्यक रहेको बताउँछिन््, तुलसीपुर उपमहानगरपालिका–५ का वडासदस्य सावित्रा गुरुङ । उनले आत्महत्या विभिन्न कारणले हुने गरेको भन्दै अब कारण पहिचान गरी यसलाई निरुत्साहित गर्नेतर्फ सबै लाग्नुपर्ने र वडास्तरबाटै जनचेतनामूलक कार्यक्रम गर्ने कार्ययोजना बनाइरहेको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आत्महत्या विभिन्न कारणबाट हुने गरेको भन्दै आत्महत्या न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । उनले आत्महत्यालाई निरुत्साहित गर्न मनोसामाजिक परामर्श गर्नुपर्ने बताउँछन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले गरीबी, कमजोर मानसिकता, चिन्ता, भय र उच्च महत्वकाङ्क्षा व्यक्तिमा भएका कारण त्यो पूरा नहुँदा निराशा भएर आत्महत्या हुने गरेको अनुसन्धानले देखाएको बताए ।

उहाँले जिल्लामा अन्य अपराधका तुलनामा आत्महत्याका घटना बढिरहेको भन्दै अब यसलाई नियन्त्रण गर्न जिल्लाका विभिन्न बस्ती तथा टोलमा नागरिकहरुकै सहकार्यमा सचेतना कार्यक्रम गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: