जब पाइलटले भट्टलाई भने– ‘आई क्याननट फ्लाई विथ यु’ « Nagarik Khabar

जब पाइलटले भट्टलाई भने– ‘आई क्याननट फ्लाई विथ यु’



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलई भेट्न सिंगापुर जाँदै थिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिती बुझ्नका लागि भट्ट सिंगापुर जानका लागि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । सिल्क एयरमार्फत सिंगापुर उडानका क्रममा भट्ट विमानको सिटमा गएर बसे । तर, उनी उड्न भने पाएनन् ।

मदिरा सेवन गरेको भन्दै उनलाई लिएर उड्न एयरलाइन्स तयार भएन । त्यसलगत्तै प्रधानमन्त्रीलाई भेट्न हिडेका भट्ट मदिरा सेवन गरेका कारण विमानस्थलबाट फर्काइए भन्ने समाचार आयो ।

उक्त समाचारलाई भट्टसँगै रहेका सनत न्यौपानेले पनि पुष्टि गरे । प्रधानमन्त्री भेट्न सिंगापुर जान लागेका भट्ट र उनीसँगै रहेका न्यौपानेलाई ‘क्रु’ मेम्बर’ले बाहिर निकालिदिएका थिए ।

यसलाई पुष्टि गर्दै न्यौपानेले फेसबुकमार्फत् अडियो लाइभ गर्दै एयरलाइन्समा बोर्ड गरिसकेर सिटमा बसिसकेपछि पाइलटले आफूहरुलाई विमानबाट निकालेको बताए । ‘एयरलाइन्समा बोर्ड गरिसकेपछि सिटमा बसिसकेपछि त्यहाँको क्याप्टेन आएर आई क्याननट फ्लाई विथ यु भन्यो,’ उनले भनेका छन् ।

उनले घटनाक्रमबारे विस्तृत जानकारी दिँदै मदिरा सेवन गरेको स्वीकार गरे पनि समाचारमा आएजस्तो गरी मदिरा सेवन भने नगरिएको दाबी गरे । न्यौपानेका अनुसार त्यस दिन भट्ट र उनी सँगै थिए । व्यापार डिलको एउटा मिटिङमा उनीहरु सँगै सहभागी भएको र त्यसैक्रममा मदिरा सेवन गरेको उनले स्वीकारे ।

सँगै न्यौपानेले ‘बिजनेस मिटिङमा कुन लेबलको अस्कोहल कन्जम्सन हुन्छ भन्ने कुरा हामी सबै जगजाहेर छौं,’ भनेका छन् । तर भट्टले भने त्यति मदिरा नलिएको उनको दाबी छ । ‘तर, उहाँ (भवन भट्ट)ले मैले प्रधानमन्त्रीलाई भेट्नु छ । आज म अल्कोहल त्यति लिन्न भन्नुभा’थ्यो,’ न्योपानेले भनेका छन् ।

प्लेनको सिटमा बसिसकेका आफूहरुलाई ओराल्नु विमानका कर्मचारीको गलत कार्य भएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: