शृंखलाबद्ध आक्रमणपछि महासङ्घमा सिसीटिभी जडान « Nagarik Khabar

शृंखलाबद्ध आक्रमणपछि महासङ्घमा सिसीटिभी जडान



बलेवा । अज्ञात समूहले नवनिर्मित भवनमा शृङ्खलाबद्ध आक्रमण गरेपछि नेपाल पत्रकार महासंघ बाग्लुङ शाखाले क्लोज सर्किट टेलिभिजन (सिसीटिभी) जडान गरेको छ ।

घटनाको विषयमा सुरक्षा संयन्त्रलाई जानकारी गराएलगत्तै महासंघले आक्रमणकारीको पहिचानका लागि सिसीटिभी जडान गरेको हो ।

भवनमा अज्ञात समूहले गरेको तोडफोड घटनाको तत्काल अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको र आन्तरिकरूपमा आक्रमणकारी पहिचानका लागि सिसी क्यामेरा जडान गरिएको शाखा अध्यक्ष दिल शिरिषले जानकारी दिए ।

तत्कालका लागि आठ क्यामेरा जडान गरिएको छ । भवनको बाहिरी आवरणदेखि तेस्रो तलामा रहेको हलसम्म हुने सबै क्रियाकलाप हेर्न मिल्ने गरी क्यामेरा जडान भएका छन् ।

‘रातको समयमा कोही नभएको मौकामा निरन्तर प्रहार भएपछि विकल्प खोजिएको हो,’ अध्यक्ष शिरिषले भने, ‘अपराधीको पहिचानका लागि क्यामेराले सहज बनाउनेछ ।’ भवन वरपर सरकारी कार्यालय रहेकाले शनिबार र रातको समयमा त्यो क्षेत्र सुनसान रहने गरेको छ । अघिल्लो तीन सातायता महासंघको भवनमा शनिबार राति शृंखलाबद्धरूपमा आक्रमण भएको थियो ।

महासंघको निर्माणाधीन सभाहलको जिब्सन बोर्ड, फ्रेम तोडफोड गरिएको छ भने पानीको मोटर, बिजुलीको मिटरबक्स, एमसिपी र इन्टरनेटको तार काटेर टुक्रा–टुक्रा पारिएको छ । पछिल्लो तीन सातायता तार काट्ने र भवनमा तोडफोड गर्ने कार्य निरन्तर भइरहेकाले खोज अनुसन्धानका लागि प्रहरीको ध्यानाकर्षण गराउँदै सिसीटिभी जडान गरिएको शाखाका सचिव राम थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: