तेमालका सर्वसाधरणलाई विद्युतीय चुलो वितरण « Nagarik Khabar

तेमालका सर्वसाधरणलाई विद्युतीय चुलो वितरण



काभ्रेपलाञ्चोक । विद्युत् आपूर्ति नियमित हुन थालेपछि सर्वसाधरणहरु विद्युतीय चुलो (इन्डक्सन) तर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समयमा ग्रामीण र सहरी क्षेत्रमा खाना पकाउन विद्युतीय चुलोको प्रयोग बढिरहेको छ ।

अन्य इन्धनभन्दा सस्तो, भान्सा सफा, पकाउन सजिलो र आगो नफैलनेलगायतका कारणले विद्युतीय चुलोप्रति सर्वसाधरणको आकर्षण बढेको हो। काभ्रेको तेमाल गाउँपालिकाका बासिन्दा पनि विद्युतीय चुलोप्रति आकर्षित भएका छन् । सर्वसाधरणको विद्युतीय चुलोप्रति आकर्षण बढेपछि तिमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्थाले आफ्ना ग्राहकलाई विद्युतीय चुलोको प्रयोगप्रति आकर्षित गराउन अभियान नै सुरु गरेको छ । स

संस्थाले शनिबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आतिथ्यमा तेमाल गाउँपालिकाको नारायणस्थानमा उपभोक्तालाई विद्युतीय चुलो वितरण गरी अभियानको सुरुवात गरेको छ । सहकारी संस्थाले पहिलो चरणमा पाँच हजार ४०० घरधुरीलाई ६ हजार ७०० रुपैयाँमा चुलो, कुकर, कराई र पानी तताउने ताप्के उपलब्ध गराएको छ ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उपभोक्ताले आफ्नो भान्सामा विद्युतीय चुलोको प्रयोग सुरु हुनु मुलुक समृद्धितर्फको यात्रामा अघि बढेको संकेत भएको बताए ।

‘तीन वर्षअघिसम्म कहाली लाग्दो लोडसेडिङ भोगेका हामी विद्युतीय चुलोको प्रयोगको उच्चारणसमेत गर्न सक्दैनथ्यांै, त्यतिबेला बढी विद्युत खपत गर्ने उपकरण प्रयोग नगरौं भनिन्थ्यो, अहिले अवस्था फेरिएको छ,’ घिसिङले भने, ‘विद्युत खपत बढाउनुहोस् भन्नु पर्ने अवस्था आएको छ । यसबाट मुलुक पेट्रोलियम पदार्थको आयात कम गरी ऊर्जामा आत्मनिर्भरतर्फ अगाडि बढ्ने छ ।’

विगतमा लोडसेडिङ अन्त्य गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै घिसिङले अब मुलुकभित्र उत्पादित विद्युतको खपत गर्नु ठूलो चुनौती रहेको बताए ।

सामुदायिक विद्युत उपभोक्ता महासंघले गरेको अध्ययनले ग्रामीण खाना पकाउन ग्यासको सट्टामा विद्युत् प्रयोग गरेमा झण्डै आधासस्तो पर्ने देखाएको छ । ग्रामीण भेगमा खाना पकाउँदा दिनमा एक÷दुई युनिट विद्युत् खपत हुने देखाएको छ । जसको मूल्य करिब १४ रुपैयाँ मात्रै हुन्छ ।

कुलमान सम्मानित 

कार्यक्रममा तिमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्थाले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सम्मान गरेको छ ।

लोडसेडिङ अन्त्य गरी उच्यालो नेपाल बनाउन र प्राधिकरणको संस्थागत विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै घिसिङलाई सम्मान गरिएको संस्थाका अध्यक्ष सार्कीमान तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: