सुकुम्बासी भनिने सबै अव्यवस्थित बसोबासी हुन् : मन्त्री अर्याल « Nagarik Khabar

सुकुम्बासी भनिने सबै अव्यवस्थित बसोबासी हुन् : मन्त्री अर्याल



काठमाडौं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले प्रकृति हेरेर अव्यवस्थित बसोबासीको समस्या समाधान गरिने बताएकी छन् ।

आइतबार राष्ट्रियसभामा भूमिसम्बन्धी ऐन (आठौं संशोधन) विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा प्रस्तुत गर्दै मन्त्री अर्यालले अव्यवस्थित बसोबासी १२ प्रकारका रहेको भन्दै उनीहरुको पनि पहिचान गरिसकेको र तिनलाई एउटै विधि प्रकृयाबाट समस्या समाधान गर्न नसकिने बताएकी छन् ।

‘ती सुकुम्बासी होइन् अव्यवस्थित हुन् । घर बनाइसके, बस्ती बसिसक्यो तिनलाई डोजर लाएर लखेट्ने सरकारको योजना छैन’, मन्त्री अर्यालले भनिन्, ‘तिनीहरूको व्यवस्थापन प्रकृति हेरेर मूल्यांकन र ठाउँको आधारमा निश्चित शुल्क लिएर व्यवस्थापन गरिन्छ ।’

रजिष्ट्रेशन शुल्कका आधारमा नभएर अहिलेको परिस्थितीका आधारमा, ठाउँको आधारमा हेरेर व्यवस्थापन गरिने मन्त्री अर्यालले प्रष्टीकरण दिइन् ।

मन्त्री अर्यालले सरकारले भूमिको समुचित व्यवस्थापन गर्नका निम्ति भूमि ऐन ल्याएको बताइन् । संविधानले नै अब भूमिहीन कोही हुँदैन भनेर उल्लेख गरेको भन्दै त्यसैअनुसार जोसँग कुनै पनि ठाउँमा जमिनको एउटा टुक्रा पनि नभए तिनलाई तोकिएको निश्चित क्षेत्रफलमा निःशुल्क जग्गा उपलब्ध गराएर जग्गाको मालिक बनाउने गरी ऐन ल्याएको मन्त्री अर्यालको दाबी छ ।

उनले वन मासेर अव्यवस्थित बसोबासीको व्यवस्थापन नगर्ने प्रष्टीकरण दिइन् । उनले भनिन्, ‘अहिले हेर्दा शहर छ । नक्सामा वन क्षेत्र देखिन्छ । तिनको व्यवस्थापनको कुरा मात्रै यो ऐनमा गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: