एयर होस्टेस भन्दै केटा फसाउने, पैसा नदिए आत्महत्याको धम्की दिने युवती झापाबाट पक्राउ « Nagarik Khabar

एयर होस्टेस भन्दै केटा फसाउने, पैसा नदिए आत्महत्याको धम्की दिने युवती झापाबाट पक्राउ



काठमाडौं । आफू एयर होस्टेस भएको भन्दै सामाजिक सञ्जाल (फेसबुक)मार्फत ठगी गर्ने एक युवती प्रहरीको फन्दामा परेकी छिन् ।

झापाको अर्जुनधारा नगरपालिका– ६ की २७ वर्षीया तविता राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त युवतीले गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसबुक आइडी खोली पुरुषहरुलाई फ्रेन्ड रिक्वेस्ट पठाउने गर्ने गर्थिन् ।

फेसबुक म्यासेन्जरमा आफ्नो घर उनले भारतको सिक्कीममा रहेको बताउने गर्थिन् । आफू जेट एयरवेजको एयर होस्टेज हुँ भनेर उनले परिचय दिने गरेकी थिइन् । साथै बुबा अमेरिकामा बस्ने, आमा डाक्टर र दाजु पाइलट रहेको भन्दै मोबाइल र म्यासेन्जरमा निरन्तर पुरुषहरुसँग कुराकानी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

युवतीले पुरुषहरुसँग निरन्तर कुराकानी गर्ने, नजिक हुन खोज्ने र विवाहसम्मको प्रलोभन देखाउने गरेकी थिइन् । कुराकानीको क्रममा उनले आकश्मिक समस्या देखाएर पुरुषहरुसँग रकम माग्ने (ठगी) गर्ने गरेको प्रहरीले जनाएको छ ।

रकम नदिए आफूले आत्महत्या गर्ने युवतीबाट धम्की समेत आएपछि दुई जना पुरुषले दिएको उजुरीको आधारमा युवतीलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका एसपी दिनेश मैनालीले जानकारी दिए ।

उनले आफू एयर होस्टेस हो भन्ने प्रमाणित गर्न अन्य एयर होस्टेसका फोटोहरु इन्टरनेटको माध्यमबाट डाउनलोड गरि आफ्नो फेसबुक अकाउन्टमा राख्दै आएकी थिइन्।

पैसा नदिए आत्महत्या गर्ने र नाम पोलेर फसाउने धम्की दिएपछि दुई युवकले युवतीलाई पैसा समेत दिएका थिए।

झापाबाट पक्राउ परेकी युवतीलाई झापा जिल्ला अदालतबाट ६ दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: