आन्दोलनकारीबाट प्रहरीमाथि निरन्तर आक्रमण भएपछि चितवनमा निषेधाज्ञा « Nagarik Khabar

आन्दोलनकारीबाट प्रहरीमाथि निरन्तर आक्रमण भएपछि चितवनमा निषेधाज्ञा



चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने पक्राउ परेपछि उनको रिहाइको माग गर्दै चितवनमा दैनिकजसो प्रदर्शन भैरहेको छ । त्यसक्रममा आन्दोलनकारीले प्रहरीमाथि निरन्तर आक्रमण गर्नेक्रम बढीरहेको छ ।

सार्वजनिक सम्पत्ती नोक्सानी गर्ने र सुरक्षामा खटिएका प्रहरीमाथि आन्दोलनकारीले पटक पटक आक्रमण गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ ।

आन्दोलनकारीको आक्रमणबाट आइतबार मात्रै चितवनमा डिएसपीसहित ७ प्रहरी घाइते भएका थिए ।

पुडासैनीको आत्महत्या प्रकरणमा लामिछानेसहित पत्रकार युवराज कंडेल र नर्स रुकु भनिने अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहको मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार साँझ नै निषेधाज्ञा जारी गरेको छ । सोमवार मुद्दामा बयान तथा थुनछेक बहस हुनेछ ।

जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार बिहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन प्रतिबन्ध लगाएको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञा लागू हुने चार किल्ला समेत तोकेको छ । पूर्वमा बाइपास सडकतर्फ आन्तरिक राजश्व कार्यालयको चोकबाट घरेलु कार्यालयको चोकसम्म, पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकबाट चौबिसकोठी चोकसम्म, उत्तरतर्फ बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकबाट भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म निषेधाज्ञा आदेश जारी गरिएको छ ।

त्यस्तै दक्षिणतर्फ बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकबाट दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म निषेधाज्ञा जारी गरिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ कअनुसार यो आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जनाएका छन् ।

ऐन अनुसार यसको उल्लंघन गर्नेलाई प्रजिअले ५०० सम्म जरिवाना वा एक महिनासम्म कैद वा दुबै सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: