भगवान कोइरालालाई त्रिविको उपकुलपति बन्न प्रधानमन्त्रीको प्रस्ताव « Nagarik Khabar

भगवान कोइरालालाई त्रिविको उपकुलपति बन्न प्रधानमन्त्रीको प्रस्ताव



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति तीर्थ खनियाँको भदौ ५ गतेबाट कार्यकाल सकिएपछि विश्वविद्यालयले नयाँ उपकुलपति पाउन सकेको छैन ।

त्रिविकी शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई अहिले निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ । सरकारले साउन २० गते त्रिविको उपकुलपति सिफारिसका लागि सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाखरेलको संयोजकत्वमा तीनसदस्यीय सिफारिस समिति गठन गरेको थियो ।

शिक्षामन्त्री गिरिराजमणि पाखरेलको संयोजकत्वमा बनेको समितिले तीन साता बित्दा पनि उपकुलपतिका लागि योग्य व्यक्ति फेला पार्न सकेको छैन ।

त्रिभुवन विश्वविद्यालय ऐनमा सहकुलपतिको संयोजकत्वमा सिनेटका दुई सदस्य रहनेगरी सिफारिस समिति गठन गर्ने व्यवस्था छ । समितिले सिफारिस गरेको व्यक्तिलाई कुलपति एवं प्रधानमन्त्रीले उपकुलपतिमा नियुक्त गर्ने प्रावधान छ ।

त्रिविको उपकुलपतिका लागि त्रिविका निवर्तमान उपकुलपतिदेखि चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्वडिन अरुण सायमीसम्मको चर्चा छ ।

प्रधानमन्त्री केपी ओलीले भने वरिष्ठ चिकित्सक भगवान् कोइरालालाई उपकुलपति बन्न आग्रह गरेको उनी निकट स्रोतले नागरिकलाई बतायो ।

कोइरालाले बालबालिकाको उपचारका लागि चाइल्ड हेल्थ हस्पिटल स्थापनामा लाग्नुपर्ने भएकाले उपकुलपति बन्न तत्काल निर्णय दिने अवस्थामा आफू नरहेको प्रतिक्रिया दिएको पनि स्रोतले बतायो ।

प्रधानमन्त्रीनिकट नेकपाका एक नेताले त्रिविलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउनुहुन्न भन्ने पक्षमा प्रधानमन्त्री रहेको बताए । ‘डा. कोइरालालाई यसका लागि उपयुक्त पात्र ठानी उपकुलपति बन्न आग्रह गरिएको हो’, उनले भने ।

आजको नागरिक दैनिकमा सुनिल सापकोटाको बाइलाइनमा यो समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: