पुडासैनीलाई बलात्कार केसमा फसाइदिने धम्की दिएको अस्मिताको बयान « Nagarik Khabar

पुडासैनीलाई बलात्कार केसमा फसाइदिने धम्की दिएको अस्मिताको बयान



चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेकी नर्स अस्मिता भन्ने रुकु कार्कीले बयानका क्रममा पत्रकार शालिकराम पुडासैनीलाई बलात्कार केसमा फसाइदिने धम्की दिएको स्वीकार गरेकी छन् ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र पत्रकार युवराज कंडेलसँग मिलेर पुडासैनीलाई बलात्कार केसमा फसाइदिने धम्की दिएको अस्मिताले प्रहरीसँगको बयानमा स्वीकार गरेकी अभियोगपत्रमा उल्लेख छ ।

 

अस्मिताले न्युज २४ टेलिभिजनको कार्यालयमा आफू गएको फोटो पुडासैनीलाई पठाएकी थिइन्। अभियोगपत्रमा लेखिएको छ, ‘प्रतिवादीले न्युज २४ टेलिभिजनको कार्यालयको फोटो समेत खिची मृतकको बारेमा कार्यक्रम प्रशारण गरिदिने भनी धम्की दिएको कुरा स्वीकार गरेकी तथा सो अनुसार निजले मृतकले आत्महत्या गर्नु भन्दा केही दिन अगाडि पठाएको सो फोटो मिसिल संलग्न रहेको देखिन्छ ।’

कार्कीले प्रहरीसँगको बयानमा विवाहित पुडासैनीले आफूलाई अविवाहित भन्दै धोका दिएको बताएकी छन्। आफूलाई धोकामा राखेको थाहा भएपछि सम्बन्ध बिग्रिएको, र पनि पुडासैनिले पीछा नछोडेको पनि बयानमा उल्लेख गरिएको छ ।
अस्मिताले पुडासैनीको पिछा छोडाइदिन क्यामेरामेन अनिल ढुंगेलमार्फत लामिछाने र कंडेललाई अनुरोध गरेको बयान दिएकी छन् ।

आफ्नो कार्यक्रम छोडेर अर्को टिभीमा समानान्तर कार्यक्रम चलाउन गएको रिसिवी साँध्न कार्कीसँग मिलेर लामिछाने र कंडेलले पुडासैनीलाई धम्क्याएको दाबी अभियोगपत्रमा उल्लेख गरिएको छ ।

अभियोगपत्र दायर भएपछिको बयानमा समेत अस्मिताले पुडासैनीलाई धम्की दिएको प्रहरीसमक्ष स्वीकार गरेकी छन् । उनले कंडेल र लामिछानेले पनि ब्ल्याकमेल गरेको हुनसक्ने भन्दै उनीहरूलाई मुछेकी छन्। अभियोगपत्रमा समेत यो विषय उल्लेख गरिएको छ ।

न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनजनाविरूद्ध पुडासैनीलाई आत्महत्या गर्न बाध्य हुने परिस्थिति खडा गरेको अभियोग सहित चितवन जिल्ला अदालतमा हिजो मुद्दा दर्ता गरिएको छ ।

जिल्ला वकिलको कार्यालय चितवनले अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूलाई ५ वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय चितवनले मुद्दा दायर गरेको हो।

सोमबार कंडेल र लामिछानेको बयान सकिएपछि थुनछेकको बहस सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: