धरानमा पहिलो पटक डिजेल प्लान्टबाट शव दहन « Nagarik Khabar

धरानमा पहिलो पटक डिजेल प्लान्टबाट शव दहन



सुनसरी । धरानमा डिजल प्लान्टबाट शव दहन सुरु गरिएको छ । धरान उपमहानगरपालिका–१४ स्थित खत्री धारामा रहेको शवदाह स्थलमा निर्माण गरिएको डिजेल प्लान्ट शवदाहमा शनिबारदेखि शव दहन सुरु गरिएको हो ।

शवदाह झिंगु दाह संस्कार स्थलको निर्माण तथा व्यवस्थापन झिंगु समाज धरानद्वारा गरिएको हो । झिगु समाजले २०१७ सालदेखि यहाँ शव दहन गर्दै आएको थियो । दाउरामा शव जलाउन धेरै समय लाग्ने, दाउरा महँगो पर्ने, चिता बनाउन र जलाउन दक्ष जनशक्तिको अभाव जस्ता समस्यालाई कम गर्न डिजलबाट सञ्चालित शवदाह निर्माण गरिएको झिंगु समाज धरानका अध्यक्ष सुरेन्द्रमान स्थापितले बताए।

समाजले धेरै वर्षअघिदेखि नै अटोमेटिक इलेक्ट्रिबाट शव जलाउने मेसिन ल्याउने योजना बनाए पनि पूरा हुन सकेको थिएन । अहिले राखिएको डिजेल शवदाह धरान निवासी सूर्य मेटलका प्रोपराइटर उत्तम ताम्राकारले निर्माण गरेका हुन् । यस किसिमको प्लान्ट अन्य स्थानमा नभएको ताम्राकारले बताए ।

पहिलो पटक परीक्षण गर्दा शव आधा घण्टामा जलेका थियो । एउटा शव जलाउन करिब ३० लिटर डिजल खपत भएको थियो । आफुले बनाएको प्लान्ट सफल हुँदा उत्साहित भएको ताम्राकारले बताए । उनी यसलाई केही परिमार्जन गर्नुपर्ने बताउँछन् ।

शुरुमा प्लान्ट नयाँ भएकाले धेरै धुवा आए पनि पछि कम हुने र पछि पछि शव जल्न पनि अझ कम समय लाग्ने उनले बताए । डिजल प्लान्टका निर्माणका लागि १० लाख रुपैयाँ सूर्य मेटल प्रालिले प्रदान गरेको हो । यसलाई सुरक्षा दिने टिनको छाना भएको सेड एक लाख पचस हजारको लागतमा मितेरी बैंक धरानले निर्माण गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: