अमेरिकाले विश्वका देशहरुको सूचीबाट प्यालेस्टाइन हटायो « Nagarik Khabar

अमेरिकाले विश्वका देशहरुको सूचीबाट प्यालेस्टाइन हटायो



एजेन्सी । संयुक्तराज्य अमेरिकाले विश्वका देश र राज्यहरुको नामावली समेटिएको सूचीबाट पहिलोपटक प्यालेस्टाइनलाई हटाएको छ । अमेरिकी उक्त कदमको प्यालेस्टाइन सरकारले विरोध जनाएको छ ।

प्यालेस्टिनी राष्ट्रपति कार्यालयका प्रवक्ता नाबिल अबु रुदैनाहले एक वक्तव्य प्रकाशन गरी अमेरिकाको पछिल्लो कदमले अमेरिकाको निरन्तर खस्कदो विदेश नीतिलाई नै प्रतिबिम्बित गरिरहेको बताएका छन् ।

रुदैनाहले अमेरिकी कदमको भत्र्सना गर्दै भनेका छन्– अमेरिकाको यो कदमले इजरायलको आक्रमणकारी रबैयालाई समर्थन मात्र गरेको छैन, यसले चरमपन्थी एवं घोर दक्षिणपन्थी इजरायली योजनालाई नै पूर्ण रुपमा समर्थन गरेको छ ।

इजरायली रेडियोले अमेरिकी विदेश मन्त्रालयको भनाई उद्धृत गर्दै प्यालेस्टाइनलाई दिँइदै आएको राज्यस्तरको मान्यता खारेज गरेको समाचार प्रसारण गरेको थियो । अमेरिकी विदेश मन्त्रालयले प्यालेस्टाइनको नाम समेत आफ्नो आधिकारिक वेबसाइटबाट हटाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बर २०१७ मा इजरायलको राजधानीका रुपमा जेरुसेलमलाई मान्यता प्रदान गरेको घोषणा गरेसँगै अमेरिकाले प्यालेस्टिनी सरकारसँगको राजनीतिक सम्बन्ध तोडेको थियो ।

सन् २०१८ को मे महिनामा इजरायलस्थित अमेरिकी राजदूतावासलाई अमेरिकाले जेरुसेलम स्थानान्तरण गरेको थियो ।

प्यालेस्टिनी विदेश मन्त्रालयले पनि आइतबार नै अमेरिकी पछिल्लो कदमको भत्र्सना गरेको थियो । ‘अमेरिकी सरकारको पछिल्लो निर्णयले इजरायल–प्यालेस्टाइनको वर्षौं पुरानो विवाद सुल्झाउने दुई–राज्य मोडेललाई जसरी पनि ध्वस्त पार्न चाहेको पछिल्लो घटनाले देखाएको छ ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: